चक्रपथ सरसफाई महाअभियानको ४८२औँ हप्ताको अवसरमा आयोजना गरिएको वृहत् रक्तदान कार्यक्रमबाट १११ पिन्ट रगत संकलन
rastriyakhabar
१५ असार २०८३, सोमबार २१:५०
काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको ४८२औँ हप्ताको अवसरमा आयोजना गरिएको वृहत् रक्तदान कार्यक्रमबाट १११ पिन्ट रगत संकलन भएको छ। सामाजिक उत्तरदायित्व, मानवीय सेवाभाव र सामुदायिक एकताको उत्कृष्ट उदाहरण बनेको यो कार्यक्रमले रक्त अभावका कारण उपचारको पर्खाइमा रहेका सयौं बिरामीका लागि नयाँ आशा जगाएको छ।
लामो समयदेखि प्रत्येक हप्ता निरन्तर सञ्चालन हुँदै आएको चक्रपथ सरसफाई महाअभियानले यसपटक सरसफाइसँगै रक्तदानलाई जोडेर समाजप्रति आफ्नो दायित्वलाई अझ फराकिलो बनाएको हो। कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, अस्पतालका कर्मचारी, बिरामीका आफन्त तथा विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रमको आयोजना चक्रपथ सरसफाई महाअभियानले गरेको थियो भने ग्रीन सिटी हस्पिटल प्रा.लि., ब्लड डोनर्स काठमाडौं मध्यक्षेत्र, यती हेल्थ साइन्स एकेडेमी, हिमालयन वातावरण संरक्षण प्रा.लि. तथा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र रानीबारी सह–आयोजकका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा संकलित रगतको प्राविधिक व्यवस्थापन मेट्रो ब्लड बैंक, महाराजगञ्जले गरेको थियो। सुरक्षित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गरिएको रक्तदान कार्यक्रमले स्वास्थ्य सेवा र सामाजिक सेवाबीचको समन्वयलाई पनि उजागर गरेको सहभागीहरूको भनाइ थियो।
यस कार्यक्रममा सबैभन्दा बढी उत्साहजनक पक्ष भनेको युवाहरूको सक्रिय सहभागिता रह्यो। विभिन्न कलेजका विद्यार्थीहरूले स्वेच्छिक रक्तदान गर्दै मानव सेवाको सन्देश फैलाएका थिए। त्यसैगरी ग्रीन सिटी हस्पिटलका चिकित्सक, नर्स, कर्मचारी, अस्पतालमा रहेका बिरामीका आफन्त, सामाजिक अभियन्ता तथा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रमा आबद्ध सदस्यहरूले पनि उत्साहपूर्वक रक्तदान गरेका थिए।
कार्यक्रमका संयोजक लोक बहादुर टण्डनको नेतृत्वमा सम्पन्न कार्यक्रममा व्यवस्थापनको जिम्मेवारी तिलक बस्नेत, सुन्दर खनाल र लोकेन्द्र राउतले सम्हालेका थिए। कार्यक्रमलाई सफल बनाउन सबै पक्षबीच उत्कृष्ट समन्वय भएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई थप विशेष बनाउने अर्को संयोग पनि रह्यो। यही दिन अभियानका संयोजक लोक बहादुर टण्डनको जन्मदिन परेको थियो। जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक सेवामा समर्पित गर्दै उनले रक्तदान कार्यक्रममार्फत समाजलाई जीवनदान दिने अभियानलाई अझ अर्थपूर्ण बनाएका थिए।
यसै दिन राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व पनि परेकाले सहभागीहरूले सामूहिक रूपमा दही–चिउरा ग्रहण गर्दै नेपाली कृषि संस्कृति र परम्पराप्रति सम्मान व्यक्त गरेका थिए। यसले रक्तदान, सरसफाइ, जन्मदिन र सांस्कृतिक पर्वलाई एउटै मञ्चमा जोड्दै कार्यक्रमलाई सामाजिक सद्भाव र एकताको उत्सवका रूपमा रूपान्तरण गरेको थियो।
कार्यक्रमको समापनमा संयोजक लोक बहादुर टण्डनले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, सह–आयोजक संस्था, प्राविधिक सहयोगी, स्वयंसेवक, व्यवस्थापन टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे। उनले “एक पिन्ट रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे।
कार्यक्रमको मिडिया सपोर्टतुफान न्यूज डटकम र राष्ट्रिय खबर डटकमले गरेका थिए भने मिडिया संयोजनको जिम्मेवारी डि.बि. पराजुलीले निर्वाह गरेका थिए।
चक्रपथ सरसफाई महाअभियानले विगत धेरै वर्षदेखि निरन्तर रूपमा सरसफाइ, वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा सामाजिक सेवाका विविध गतिविधि सञ्चालन गर्दै आएको छ। ४८२औँ हप्तामा सम्पन्न भएको यो रक्तदान कार्यक्रमले अभियान केवल सरसफाइमा सीमित नभई मानव जीवन बचाउने अभियानका रूपमा पनि स्थापित हुँदै गएको स्पष्ट सन्देश दिएको छ।
१११ पिन्ट रगतको संकलन केवल एउटा तथ्याङ्क मात्र होइन, यो १११ जनाभन्दा धेरै बिरामीका जीवनमा आशाको नयाँ किरण जगाउने मानवीय योगदान हो। यही कारण चक्रपथ सरसफाई महाअभियानको ४८२औँ हप्ताको यो कार्यक्रम सहभागीहरूका लागि मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणादायी उदाहरण बनेको छ।
प्रतिक्रिया