काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। किसानहरू खेतमा धान रोप्दै असारे भाका गाउँदै रमाइरहेका छन् भने खेतीपातीबाहेक अन्य पेशा–व्यवसायमा रहेका नेपालीहरूले पनि दही–चिउरा खाएर यस पर्वलाई उल्लासपूर्वक मनाउने परम्परा छ।
असार महिनामा धान रोपाइँको मुख्य समय हुने भएकाले आजको दिन नेपाली कृषि संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ। खेतमा दिनभर काम गर्ने किसानले शरीरमा ऊर्जा र शीतलता कायम राख्न दही–चिउरा खाने परम्परा रहिआएको छ। पोषणका दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्य, यात्रा वा नयाँ कामको सुरुआत गर्दा दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाउने चलन अहिले पनि कायम छ। आयुर्वेदमा पनि दही र मोही पाचन प्रणालीका लागि लाभदायक मानिएको छ।
नेपाल सरकारले वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरेको हो। कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले किसानको सम्मान र कृषि क्षेत्रको महत्व उजागर गर्न यो दिवस मनाइन्छ।
आजका दिन किसानहरू हिलोमा धान रोप्दै असारे भाका गाउने, हिलो खेल्ने र सामूहिक रूपमा रोपाइँ गर्ने परम्पराले ग्रामीण क्षेत्रमा विशेष उत्साह थप्ने गरेको छ। खेतका गरामा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने संस्कृति पनि यस पर्वको आकर्षण बनेको छ।
यद्यपि, यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण देशका धेरै क्षेत्रमा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा पर्याप्त वर्षा नहुँदा किसानले सिँचाइ र मल व्यवस्थापनमा समस्या भोगिरहेका छन्। यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक रासायनिक मल पर्याप्त मौज्दात रहेको जनाएको छ।
राष्ट्रिय धान दिवसले नेपाली कृषि, संस्कृति र परम्परालाई संरक्षण गर्दै कृषिप्रति सम्मान अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै आएको छ।
प्रतिक्रिया