काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिन काग मुख्य कारण, उच्च सतर्कता अपनाउन विभागको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०८३, सोमबार ०५:१७

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय फैलिएको बर्डफ्लु संक्रमणको प्रमुख कारण काग रहेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार कुखुरामा देखिएको संक्रमण धेरै स्थानमा नियन्त्रणमा आए पनि संक्रमित कागका कारण रोग फैलिने जोखिम अझै कायम रहेको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमित काग एक स्थानबाट अर्को स्थानमा सहजै उड्ने भएकाले बर्डफ्लु भाइरस तीव्र रूपमा फैलिरहेको छ। कागलाई नियन्त्रण गर्न कठिन हुने भएकाले काठमाडौं उपत्यका तथा सदर चिडियाखानालगायत क्षेत्रमा संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको उनले बताए।

विभागका अनुसार कागमा देखिएको संक्रमण २१ दिनसम्म सक्रिय रहन सक्छ। यस अवधिमा संक्रमित कागले विभिन्न स्थानमा पुगेर अन्य पन्छीमा रोग सार्न सक्ने जोखिम उच्च हुन्छ। साथै, मरेका काग समयमै फेला नपर्ने र तिनको शव वा सुलीबाट पनि अन्य पन्छीमा भाइरस सर्ने गरेको पाइएको छ।

हाल काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनवटै जिल्लामा बर्डफ्लुको प्रभाव देखिएको छ। देशभर भने ११ जिल्लाका १०० भन्दा बढी स्थानमा संक्रमण पुष्टि भइसकेको विभागले जनाएको छ। यद्यपि, कीर्तिपुरकागेश्वरी मनोहरा बाहेक उपत्यकाका अधिकांश क्षेत्रमा संक्रमण नियन्त्रणको अवस्थामा रहेको विभागको दाबी छ।

बर्डफ्लु पन्छीमा लाग्ने अत्यन्त संक्रामक र उच्च मृत्युदर भएको रोग भएकाले विभागले पन्छीपालक किसान तथा सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कुनै पनि स्थानमा काग वा अन्य पन्छी अस्वाभाविक रूपमा मरेको भेटिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन पनि विभागले अनुरोध गरेको छ।

संक्रमण नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा निगरानी, परीक्षण तथा नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ। विभागले संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म उच्च सतर्कता कायम रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor