मदन भण्डारी जन्मजयन्तीमा वाम नेताहरू एकै मञ्चमा, सहकार्य र एकताको बहस फेरि चर्चामा
rastriyakhabar
१५ असार २०८३, सोमबार ०५:१६
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष विचार गोष्ठीमा नेपालका प्रमुख वामपन्थी नेताहरू एकै मञ्चमा उपस्थित भएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भइन्।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत पूर्वप्रधानमन्त्री तथा शीर्ष वाम नेताहरूको उपस्थिति रहेको थियो।
ओली : “जनता असन्तुष्ट हुने काम गरेका छैनौं”
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वले जनता असन्तुष्ट हुने कुनै काम नगरेको दाबी गरे। उनले आफूहरूमाथि विभिन्न आरोप लगाइए पनि सरकारको कार्यसम्पादनका आधारमा जनताले असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताए।
ओलीले भदौ २३ र २४ का राजनीतिक घटनाक्रमलाई लोकतन्त्रविरुद्धको प्रतिगामी कदमको संज्ञा दिँदै वैधानिक सरकारलाई असंवैधानिक रूपमा हटाइएको आरोप लगाए। उनले लोकतन्त्र र संविधानको रक्षाका लागि वाम शक्तिबीच कार्यगत सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गरे।
प्रचण्ड : राष्ट्रिय स्वाधीनताका लागि वामपन्थी एक हुनुपर्छ
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा बाह्य हस्तक्षेपविरुद्ध सबै वामपन्थी र देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
उनले वर्तमान राजनीतिक परिस्थितिलाई चुनौतीपूर्ण भन्दै ढिला नगरी सहकार्यको वातावरण बनाउनुपर्ने बताए। गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायका हितका लागि साझा संघर्ष आवश्यक रहेको उनको भनाइ थियो।
माधव नेपाल : तत्काल पार्टी एकता सम्भव छैन
नेकपाका सहसंयोजक माधवकुमार नेपालले भने तत्काल कम्युनिस्ट पार्टीहरूबीच औपचारिक एकता हुने अवस्था नदेखिएको स्पष्ट पारे।
उनले पहिले साझा मुद्दामा सहकार्य हुनुपर्ने, त्यसपछि विश्वास, विचार र विधिमा समानता कायम भए मात्र दिगो एकता सम्भव हुने बताए। विगतमा एकता भएर पनि टिक्न नसकेको अनुभवबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो।
झलनाथ : विभाजनले वाम आन्दोलन कमजोर बन्यो
वरिष्ठ नेता झलनाथ खनालले वाम शक्तिहरू विभाजित हुँदा निर्वाचनमा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै एकता कायम रहेको भए वर्तमान अवस्था सिर्जना नहुने तर्क गरे।
विद्यादेवी भण्डारी : जनताको सन्देशलाई आत्मसात् गर्नुपर्छ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलन समाप्त भएको निष्कर्षमा पुग्न नहुने बताइन्। उनले जनताबाट प्राप्त सन्देशलाई आत्मसात् गर्दै समयअनुकूल पार्टी र आन्दोलनलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन्।
कार्यक्रममा सहभागी अधिकांश नेताहरूले वामपन्थी शक्तिबीच सहकार्य र एकताको आवश्यकता औंल्याए। यद्यपि, एकता कसरी र कहिले सम्भव हुन्छ भन्ने विषयमा नेताहरूका धारणा फरक–फरक देखिएका छन्। कार्यक्रमले आगामी दिनमा वामपन्थी दलहरूबीच सहकार्य र सम्भावित राजनीतिक समीकरणबारे नयाँ बहस सुरु गराएको छ।
प्रतिक्रिया