अर्थमन्त्री भट्टराईको सरकारी गाडीमाथि तोडफोड, मधेश भवनभित्रै सुरक्षा व्यवस्थामाथि प्रश्न
rastriyakhabar
११ असार २०८३, बिहीबार ०५:०१
जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको घटनाले प्रदेश सरकारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार बिहान मन्त्रालय अगाडि पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार बिहान करिब ११ बजे एक व्यक्ति स्कारपिओ गाडीमा मन्त्रालय परिसर प्रवेश गरेका थिए। सीसीटीभी फुटेजमा देखिएअनुसार ती व्यक्तिले केही समय परिसरमा घुम्दै रेकी गरेपछि अर्थमन्त्रीको गाडीमा राखिएको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेका थिए।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति कानमा मोबाइल फोन लगाएर परिसरभित्र हिँडडुल गरिरहेको देखिन्छ। घटनाको शैली र गतिविधि हेर्दा यो सामान्य तोडफोड मात्र नभई योजनाबद्ध रूपमा गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मधेश भवन परिसरमा विस्तृत अनुसन्धान थालेको थियो। तर, परिसरमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले घटनामा प्रयोग भएको गाडीको नम्बर र संलग्न व्यक्तिको स्पष्ट पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
प्रदेश सरकारको महत्वपूर्ण प्रशासनिक केन्द्रभित्रै मन्त्रीको सरकारी सवारीसाधनमाथि तोडफोड हुनु सुरक्षा व्यवस्थाका लागि चुनौतीपूर्ण घटनाका रूपमा हेरिएको छ। सरकारी कार्यालय परिसरभित्रै यस्ता गतिविधि हुनुले सुरक्षा निगरानी र पूर्वतयारीबारे प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्ति र प्रयोग गरिएको गाडीको खोजी कार्य तीव्र पारिएको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ।
प्रतिक्रिया