सिस्टममा नआउनेलाई कांग्रेसले सदस्य मान्दैन : गगन थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०८३, बुधबार ०४:५९

रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई कांग्रेसले वैधानिक सदस्यका रूपमा स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएका छन्।

मंगलबार झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस अब पूर्ण रूपमा डिजिटल प्रणाली र संस्थागत व्यवस्थामा आधारित भएर सञ्चालन हुने बताएका हुन्। उनले पार्टीभित्र व्यक्तिभन्दा प्रणालीलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अब कांग्रेस ‘सिस्टम’ अनुसार चल्ने बताए।

पार्टीभित्रका केही नेताहरूले हालसम्म सदस्यता अद्यावधिक नगरेको प्रसङ्ग उल्लेख गर्दै थापाले भने, “कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने पार्टीले उहाँलाई सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।”

उनले कांग्रेसलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्न सदस्यता व्यवस्थापनदेखि पार्टी सञ्चालनसम्मका सम्पूर्ण प्रक्रिया व्यवस्थित बनाइने बताए।

सभापति थापाले कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै खुसी व्यक्त गरे। पार्टीलाई गतिशील बनाउन सक्षम, ऊर्जावान र जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले पुरानो शैलीमा पद ओगटेर मात्र बस्ने प्रवृत्तिले संगठनलाई अघि बढाउन नसक्ने बताए।

“कांग्रेस चलाउन सक्ने एकभन्दा एक सक्षम युवा साथीहरू तयार भइसकेका छन्। अब पार्टीलाई उनीहरूले नै नयाँ ढंगले अघि बढाउनेछन्,” उनले भने।

थापाको भनाइलाई कांग्रेसभित्र संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र आगामी नेतृत्व हस्तान्तरणको संकेतका रूपमा समेत हेरिएको छ। पछिल्लो समय पार्टीभित्र देखिएको पुस्तान्तरणको बहसका बीच उनको यो अभिव्यक्तिले कांग्रेस राजनीतिमा नयाँ चर्चा सिर्जना गरेको छ।

प्रतिक्रिया

slot gacor