किसानको पसिनामाथि बिचौलियाको खेल : नवलपरासीका केरा उत्पादक संकटमा
rastriyakhabar
९ असार २०८३, मंगलवार १७:४०
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का केरा किसानहरू उत्पादन बढे पनि उचित मूल्य नपाउँदा गम्भीर संकटमा परेका छन्। एकातिर किसानले लागतसमेत नउठ्ने मूल्यमा केरा बेच्न बाध्य छन् भने अर्कोतर्फ उपभोक्ताले भने महँगो मूल्य तिरेर खरिद गर्नुपरेको अवस्था छ। यसले कृषि बजारमा बिचौलियाको प्रभाव र सरकारी बजार व्यवस्थापनको कमजोरीलाई उजागर गरेको छ।
विगत तीन दशकदेखि केराखेती गर्दै आएका मध्यविन्दु नगरपालिका–६ का किसान दुर्गाप्रसाद भुर्तेलले अहिले किसानले पाउने मूल्यले खेती टिकाउनै कठिन भएको बताउँछन्। रोग, किरा, हावाहुरी र असिनापानीजस्ता प्राकृतिक जोखिम मोलेर उत्पादन गरे पनि बजारमा उचित मूल्य नपाउँदा किसान निराश बनेका छन्।
कावासोती–१३ की किसान फुलकुमारी महतोको पीडा पनि उस्तै छ। चार बिघा जमिनमा केराखेती गरेकी उनले किसानले सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्थाले बीचमा कसले लाभ लिइरहेको छ भन्ने स्पष्ट देखिएको बताइन्।
कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिको तथ्यांकअनुसार किसानले केरा प्रति दर्जन ६० देखि ७२ रुपैयाँमा बेच्न बाध्य छन्। तर सोही केरा थोक बजारमा पुग्दा १३२ रुपैयाँसम्म पुग्छ भने उपभोक्ताले १५० रुपैयाँसम्म तिर्नुपर्छ। किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बिचौलिया प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ।
जिल्लामा हाल ५ सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको छ। कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार उत्पादनमा वृद्धि भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारण प्रणाली प्रभावकारी हुन नसक्दा किसानले अपेक्षित लाभ लिन सकेका छैनन्।
किसानहरूले बिचौलियाको नियन्त्रण, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषकलाई सिधै बजारसँग जोड्ने व्यवस्था तथा कृषि उत्पादनको सुनिश्चित बजारको माग गरेका छन्। अन्यथा, निरन्तर घाटा र निराशाका कारण धेरै किसान केराखेतीबाट पलायन हुने खतरा बढ्दै गएको उनीहरूको चेतावनी छ।
कृषि प्रधान देश भनिए पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने अवस्था अन्त्य नभएसम्म कृषि क्षेत्रको दिगो विकास सम्भव नहुने देखिन्छ। किसानको पसिनाको मूल्य किसानले नै पाउने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व बनेको छ।
प्रतिक्रिया