रास्वपा महाधिवेशनमा रवि लामिछानेको भावुक सम्बोधन : “देश रास्वपाको हातमा सुरक्षित छ”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८३, सोमबार ०५:०४

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सभापति रवि लामिछानेले भावुक, राजनीतिक र आत्ममूल्याङ्कन मिश्रित सम्बोधन गर्दै रास्वपा प्रतिशोध र दम्भभन्दा माथि उठेर देश र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीसहित अघि बढेको बताएका छन्।

भरतपुरमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा बोल्दै लामिछानेले सहिद, घाइते योद्धा र विगतका लोकतान्त्रिक आन्दोलनहरूको योगदानप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले आफू जेलमा हुँदा पनि जनताको समर्थन र विश्वासले आफूलाई बल दिएको स्मरण गर्दै “जेलको कालकोठरीबाट बोलेको आवाज पनि अन्ततः जनताले सुने” भने।

लामिछानेले रास्वपा अहिले शक्तिशाली पार्टी बनेको उल्लेख गर्दै “शक्तिशाली हुनु भनेको प्रतिशोध साँध्ने अधिकार होइन” भने। उनले मञ्चमा रहेका शीर्ष नेताहरूलाई साक्षी राख्दै “निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा सुरक्षित छ” भन्ने घोषणा गरे।

उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, मानव अधिकार र समावेशी समाजका उपलब्धिहरूको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै विगतका आन्दोलनहरूको तिरस्कार नगर्ने स्पष्ट पारे। साथै कांग्रेस र एमालेका आन्तरिक समस्या देशकै समस्या बन्न सक्ने भन्दै सबै दल सही बाटोमा हिँड्नुपर्ने धारणा राखे।

पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न नेता–कार्यकर्तालाई सचेत गराउँदै उनले “रास्वपा अरू कसैको तागतले होइन, आफ्नै खुट्टामा अल्झिएर मात्रै लड्न सक्छ” भन्ने पुरानो भनाइ दोहोर्‍याए।

सरकार सञ्चालनबारे बोल्दै उनले वरिष्ठ नेता बालेन्द्र शाहलाई समर्थन जनाउँदै “गोल गर्ने जिम्मा बालेनजीकै हो” भने। उनले इतिहासलाई जवाफ दिनुपर्ने बेला आएको भन्दै व्यक्तिगत स्वार्थभन्दा देश र भावी पुस्ताको हितलाई प्राथमिकता दिन आग्रह गरे।

सम्बोधनको अन्त्यमा लामिछानेले आफ्नो परिवारको समर्थन स्मरण गरे। विशेष गरी श्रीमतीले “म घर चलाउँछु, तिमी देश सम्हाल” भनेको र दिदीले “मारेछन् भने मेरो भाइ सहिद हुन्छ” भनेको प्रसङ्ग सुनाउँदा सभाहल भावुक बनेको थियो।

तीन दिनसम्म चल्ने रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor