नियन्त्रणमा लिइएका ७७४ विद्युतीय सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८३, बुधबार ०४:५१

काठमाडौं । सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धित पक्षलाई जिम्मा लगाएको छ। अर्थ मन्त्रालयसँगको समन्वयमा शनिबार ती सवारीसाधन सम्बन्धित धनीलाई बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।

नेपाल–चीन सीमा नाका कोरला हुँदै नेपाल भित्रिएका ती विद्युतीय सवारीसाधनहरू कानुनसम्मत रूपमा आयात गरिएका हुन् वा होइनन् भन्ने विषयमा छानबिन गर्न अर्थ मन्त्रालयको अनुरोधमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस सम्बन्धमा तथ्यगत अध्ययन तथा छानबिनका लागि अर्थ मन्त्रालयले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित एक समिति गठन गरेको थियो। समितिले आवश्यक कागजात तथा आयात प्रक्रियाको अध्ययन गरेपछि ती सवारीसाधन कानुनी प्रक्रिया पूरा गरेरै नेपाल भित्रिएको पुष्टि भएको जनाइएको छ।

मुस्ताङ भन्सार कार्यालय कोरलाका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार आयात प्रक्रिया नियमअनुसार सम्पन्न भएको देखिएपछि सवारीसाधनहरू सम्बन्धित धनीलाई फिर्ता लैजान अनुमति दिइएको हो।

हाल पर्वतको कुश्मा र पोखराको हेम्जामा रोकिएका अधिकांश गाडी सम्बन्धित व्यवसायी तथा धनीहरूले लगिसकेका छन् भने कोरला नाकामा रोकिएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाउने कार्य सुरु भइसकेको छ।

सरकारले पछिल्लो समय सीमा नाकाबाट हुने आयात तथा भन्सार प्रक्रियामा निगरानी बढाउँदै आएको छ। सोही क्रममा नियन्त्रणमा लिइएका यी विद्युतीय सवारीसाधनको छानबिनबाट कानुनअनुसार आयात गरिएको पुष्टि भएपछि व्यवसायीहरूले राहत महसुस गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor