काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
मङ्गलवार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा पठाउने आदेश दिएको हो। यसअघि यही प्रकरणमा प्राधिकरणका अर्का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसमेत थुनामा परिसकेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै कैद तथा जरिवानाको माग गरेको छ। आयोगले उनीमाथि ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा बिगो कायम गरी सोही बराबरको रकम असुलउपर गर्नुपर्ने मागदाबी गरेको छ।
अख्तियारका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्श सेवाको लागत अस्वाभाविक रूपमा बढाई ५० करोड ३४ लाख रुपैयाँ बराबरको लागत अनुमान स्वीकृत गरिएको थियो। उक्त निर्णयबाट राज्यलाई आर्थिक नोक्सानी पुगेको भन्दै सम्बन्धित पदाधिकारीहरूविरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको हो।
बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको यो प्रकरणमा अदालतको पछिल्लो आदेशसँगै अनुसन्धान तथा कानुनी प्रक्रिया थप गहिरिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया