काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै अब पार्टीको पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ। यसक्रममा महामन्त्री पदका लागि रञ्जु दर्शनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दर्शनाले सामाजिक सञ्जालमार्फत आफू महामन्त्री पदको प्रतिस्पर्धामा रहेको जानकारी दिएकी हुन्। उनको उम्मेदवारीसँगै महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ।
महामन्त्री पदका लागि मनिष झा, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र विपिन आचार्यले पनि दाबी प्रस्तुत गर्ने तयारी गरेका छन्। पार्टीभित्र प्रभावशाली नेताहरूबीच हुने प्रतिस्पर्धाले नेतृत्व चयनलाई थप चासोको विषय बनाएको छ।
रास्वपाको संशोधित विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ। तीमध्ये एक जना निर्वाचनबाट चयन हुने र अर्का एक जना सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ। निर्वाचनमा उम्मेदवार हुन भने सम्बन्धित व्यक्ति पहिले केन्द्रीय सदस्यमा निर्वाचित भएको हुनुपर्ने व्यवस्था छ।
फागुन २१ को निर्वाचनअघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाको उम्मेदवारीलाई पार्टीभित्र नयाँ राजनीतिक समीकरणका रूपमा पनि हेरिएको छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै महामन्त्रीसहित अन्य पदाधिकारीको निर्वाचनलाई रास्वपा वृत्तमा विशेष चासोका साथ हेरिएको छ। निर्वाचित पदाधिकारीहरूले आगामी दिनमा पार्टीको संगठन विस्तार, नीति निर्माण तथा राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
प्रतिक्रिया