काठमाडौं । अवैध रूपमा शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) सञ्चालन गरेको आरोपमा प्रहरीले १८ जना सञ्चालकलाई पक्राउ गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र र मन्त्रिपरिषद्को निर्णयका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो तीन दिनमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये काठमाडौंका १६ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन्। केही सञ्चालक भने हाल फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले काठमाडौंबाट गुरुबा इन्टरनेसनल, लेक्सिकर्न एजुकेशन नेटवर्क, पास्कल एजुकेशन, मेगाटेक भ्याली एजुकेशन, भिक्ट्री एजुकेशन, २४ आवर एजुकेशन, युनिभर्सिटी गेटवे, एपिटोमी एजुकेशन, स्किल प्वाइन्ट एजुकेशन, ड्रिम एजुकेशन र भाइब्रेन्ट एजुकेसन सर्भिसका सञ्चालकहरूलाई पक्राउ गरेको छ।
यस्तै ललितपुरबाट उरेसी एजुकेशन र ब्लुम एब्रोड तथा भक्तपुरबाट ग्रिनर एजुकेसन र ग्लोबल इम्प्याक्ट एजुकेशनका सञ्चालकहरू पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामाथि शिक्षा ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। आवश्यक अनुमति र दर्ताबिना सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थामाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने पनि प्रहरीले जनाएको छ।
यसअघि पनि करिब एक महिनाअघि प्रहरीले दर्ताविहीन ६८ वटा कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको थियो। तीमध्ये २७ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो।
शिक्षा मन्त्रालय र प्रहरी प्रशासनले विद्यार्थी तथा अभिभावकलाई वैदेशिक अध्ययनका लागि परामर्श लिँदा सरकारबाट विधिवत् दर्ता तथा अनुमति प्राप्त कन्सल्टेन्सीमार्फत मात्र सेवा लिन आग्रह गरेका छन्।
प्रतिक्रिया