काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल स्थानान्तरण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। अनुगमनका क्रममा उनले जिम्मेवार ठेकेदारलाई खोजेर ल्याउन र काममा थप लापरबाही भए कडा कारबाही गर्न निर्देशन दिएका छन्।
आइतबार पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडकखण्डको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय तथा प्रहरी उपरीक्षक सुमित खड्कालगायत उपस्थित अधिकारीहरूलाई निर्देशन दिएका हुन्।
नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको प्रगति समीक्षा गर्ने क्रममा आयोजनाका अधिकारीहरूले बिजुलीका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण सडक निर्माण प्रभावित भइरहेको जानकारी गराएका थिए। त्यसपछि मन्त्री लम्सालले तीव्र असन्तुष्टि व्यक्त गर्दै ठेकेदारलाई तत्काल काम सम्पन्न गर्न दबाब दिन निर्देशन दिएका थिए।
हाल पूर्वी खण्डमा रहेका बिजुलीका पोल सार्ने जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणमार्फत सोहन कन्स्ट्रक्सन लाई दिइएको छ। आयोजनाका अनुसार आदमघाटदेखि मलेखुसम्म अझै ७४ वटा पोल स्थानान्तरण गर्न बाँकी रहेको छ। कतिपय स्थानमा नयाँ पोल जडान गरिए पनि पुराना पोलबाट तार नसारिएकाले निर्माण कार्यमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको बताइएको छ।
नागढुंगा–मुग्लिन सडक विस्तार परियोजनाअन्तर्गत पोल स्थानान्तरणका लागि करिब १२ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यसमध्ये पूर्वी खण्डका लागि आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई ५ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ। आवश्यक कागजी प्रक्रिया पूरा भएपछि बाँकी रकम पनि भुक्तानी गरिने बताइएको छ।
सडक विस्तार आयोजनाले पोल स्थानान्तरणमा भइरहेको ढिलाइका कारण निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न चुनौती थपिएको जनाएको छ। सरकारले भने सडक निर्माणमा अवरोध पुर्याउने कुनै पनि पक्षलाई जिम्मेवार बनाउने संकेत दिएको छ।
प्रतिक्रिया