काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको टोखा र चन्द्रागिरि क्षेत्रमा फार्महाउसको आवरणमा सञ्चालन भइरहेको ठूलो परिमाणको लागुऔषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार भारतबाट अवैध रूपमा लागुऔषध खरिद गरी नेपाल भित्र्याउने, फार्महाउस परिसरभित्र जमिनमा खाडल खनी सुरक्षित रूपमा लुकाउने र मागअनुसार बजारमा बिक्री वितरण गर्ने गिरोहबारे विशेष सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो।
लामो समयदेखि संगठित रूपमा सञ्चालन हुँदै आएको उक्त अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल हुनु लागुऔषध नियन्त्रण अभियानको महत्वपूर्ण उपलब्धि भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोटका निमा तामाङ र विक्रम लामा, रुपन्देहीका सागर बुढाथोकी, भक्तपुरका उद्धव श्रेष्ठ र विकास काफ्ले, सिन्धुलीकी माया विशखे, कालिकोटका खड्क रोकाया र कमला थामी, बाजुराकी मेनुका थामी, बाराका प्रदीप उर्फ सञ्जय साह सोनार, पर्साका प्रमोद प्रसाद कलवार तथा काठमाडौंकी मोनिका श्रेष्ठ र सुशिला महर्जन रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल, २ हजार ४ सय एम्पुल बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन बरामद गरेको छ। त्यसैगरी लागुऔषध कारोबारबाट आर्जित भएको आशंकामा ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगद र २८ थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पछिल्लो समय फार्महाउस, गोदाम तथा अन्य व्यावसायिक संरचनाको आवरणमा लागुऔषध कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप तीव्र बनाइएको जनाएको छ।
प्रतिक्रिया