काठमाडौं । नेकपा (एमाले) भित्र नेतृत्व पुनर्गठनको बहस तीव्र बन्दै गएका बेला अध्यक्ष केपी शर्मा ओली ले पार्टीका वरिष्ठ नेताहरूमाथि कडा असन्तुष्टि व्यक्त गरेको खबर सार्वजनिक भएको छ। चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी बागमती प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रमपछि ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल प्रति आक्रोश व्यक्त गरेको बताइएको छ।
पार्टी स्रोतहरूका अनुसार अध्यक्ष ओलीले आफूलाई भेट्न पुगेका नेता तथा कार्यकर्तामाझ बोल्दै पुनर्गठनका नाममा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले पार्टीमाथि विभिन्न कोणबाट दबाब सिर्जना भइरहेको दाबी गर्दै नेताहरूलाई सचेत रहन आग्रह गरेको बताइएको छ।
शनिबार काठमाडौंको जडीबुटीमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा अधिकांश सहभागी नेताहरूले नेतृत्व परिवर्तन, संगठनात्मक पुनर्संरचना तथा पार्टीको भावी दिशाबारे खुला बहस गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्यहरू गोकुल बास्कोटा, आनन्द पोखरेल र कृष्णभक्त पोखरेल लगायतले नेतृत्व पुनर्गठन र निर्वाचन परिणामको गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखेको बताइएको छ।
यसैबीच महासचिव शंकर पोखरेलले सुझाव सङ्कलन कार्यक्रमबाट पार्टी पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी महत्वपूर्ण सुझाव प्राप्त भएको बताएका छन्। उपाध्यक्ष विष्णु पौडेलले पनि गुमेको जनमत र प्रतिष्ठा पुनःस्थापित गर्ने गरी पार्टीलाई पुनर्गठन गर्न एमाले सक्षम रहेको धारणा व्यक्त गरेका छन्।
पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुनर्गठन र भविष्यको रणनीतिलाई लिएर बहस तीव्र बन्दै जाँदा एमालेभित्रको शक्ति सन्तुलन र आन्तरिक राजनीति नयाँ मोडमा पुगेको विश्लेषण गरिएको छ। अध्यक्ष ओलीले आफूविरुद्ध उठाइएका प्रश्न र नेतृत्व परिवर्तनको मागलाई केन्द्रीय कमिटी बैठकमै सामना गर्ने संकेत दिएका छन्।
एमालेभित्र देखिएको यो बहसले आगामी दिनमा पार्टीको नेतृत्व, संगठनात्मक संरचना तथा राजनीतिक दिशामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया