धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे डाँडामा सडक छेउमा पार्किङ गरी राखिएको टेम्पोलाई भिरबाट खसालिएको घटनाको अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
गत शुक्रबार स्थानीय धनादेवी धामीको टेम्पो भिरमा खसालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाबारे अनुसन्धान र सोधपुछका लागि ११ जनालाई नियन्त्रणमा लिइएको छ। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले हाल उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त क्षेत्रमा वन अतिक्रमण हटाउने अभियान सञ्चालन भइरहेको खुल्न आएको छ। अभियानमा डिभिजन वन कार्यालय धनगढी, डिभिजन वन कार्यालय पहलमानपुर तथा डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारीहरूको संयुक्त टोली परिचालन गरिएको थियो।
अतिक्रमण हटाउने क्रममा सडक छेउमा रहेको सर्वसाधारणको टेम्पोलाई भिरबाट खसालिएको दृश्य सार्वजनिक भएपछि वन प्रशासनको चर्को आलोचना भइरहेको छ। हाल इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा रहेका वन कर्मचारीहरूसँग विस्तृत सोधपुछ गरिरहेको जनाएको छ।
यसबीच, डिभिजन वन कार्यालय धनगढीले आइतबार पत्रकार सम्मेलन गरी उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रूपमा प्रयोग हुँदै आएको दाबी गरेको छ। कार्यालयका अनुसार पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि बल प्रयोग गरी हटाउने क्रममा भिरालो भूगोल र सन्तुलन नमिल्दा टेम्पो भिरमा खसेको हो।
यद्यपि, घटनाको वास्तविकता र जिम्मेवारी निर्धारणका लागि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाप्रति स्थानीयवासी तथा अधिकारकर्मीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
प्रतिक्रिया