इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी, नयाँ कार्यसमिति चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८३, आईतवार ०५:२६

काठमाडौँ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको निर्वाचन समितिले जनाएको छ।

संस्थाको विधानअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी स्वतः अध्यक्ष पदमा चयन भएका हुन्। निजी क्षेत्रको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लामो अनुभव हासिल गरेका डाँगीले अब इप्पानको नेतृत्व सम्हाल्नेछन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध चयन भएका छन्।

संस्थाको महासचिव पदमा टेकनाथ आचार्य (टिएन आचार्य) निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिवमा कविता पोखरेल चयन भएकी छन्। सचिवहरूमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।

अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो। निर्वाचनमा शङ्कर बस्यालले २ सय ६७ मत प्राप्त गर्दै विजयी हासिल गरे। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।

यसैगरी खुला सदस्य पदमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित संरक्षण, ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण, जलविद्युत् विकासका अवरोध हटाउन नीतिगत पहल तथा नेपालको ऊर्जा क्षेत्रलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै इप्पानको नयाँ नेतृत्वले उत्पादन, प्रसारण तथा ऊर्जा निर्यातका क्षेत्रमा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने जनाएको छ।

प्रतिक्रिया

slot gacor