सांसदलाई धम्क्याउने भाषा संसदीय मर्यादाविपरीत : अर्जुननरसिंह केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८३, आईतवार ०५:२२

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्मा प्रश्न उठाउने सांसदहरूलाई पुराना फाइल खोल्ने चेतावनी दिनु संसदीय मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए। सांसद केसीले प्रश्न गर्नु नागरिकको अधिकार र सांसदहरूको विशेषाधिकार भएको उल्लेख गर्दै संसद्मा धम्कीपूर्ण भाषा प्रयोग हुनु अस्वीकार्य रहेको बताए।

उनले संसद् तर्क, बहस, नीति निर्माण र जनचासोका विषयमा विमर्श गर्ने सर्वोच्च लोकतान्त्रिक मञ्च भएको भन्दै शक्ति प्रदर्शन, धम्की वा नाराबाजीको माध्यम बनाउन नहुने धारणा राखे। “संसद् त तर्क, बहस र नीति विमर्श गर्ने थलो हो, हामी सबै यसतर्फ गम्भीर बन्नुपर्छ,” उनले भने।

सांसद केसीले राष्ट्रियता, जनसरोकार र मुलुकका महत्वपूर्ण विषयमा निरन्तर बहस भइरहँदा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु चिन्ताको विषय भएको बताए। कार्यकारी प्रमुखले संसद्को सामना गर्नु लोकतान्त्रिक उत्तरदायित्व भए पनि त्यसको सट्टा अन्य मन्त्रीमार्फत जिम्मेवारी पूरा गराउने प्रयास खेदजनक रहेको उनको भनाइ थियो।

उनले मुलुकमा शक्ति सन्तुलन र नियन्त्रणका लोकतान्त्रिक प्रक्रियाहरू कमजोर बन्दै गएको दाबी गर्दै अधिकारको अत्यधिक केन्द्रीकरण र संसदीय अभ्यासलाई कुण्ठित गर्ने प्रवृत्तिले अन्ततः लोकतान्त्रिक संस्थामाथि असर पार्ने चेतावनी दिए।

सांसद केसीले संसद्को गरिमा, संस्थागत मूल्य र लोकतान्त्रिक परम्पराको संरक्षण सबै राजनीतिक दल तथा नेतृत्वको साझा दायित्व भएको उल्लेख गर्दै जिम्मेवार र मर्यादित राजनीतिक व्यवहार अपनाउन आग्रह गरे।

प्रतिक्रिया

slot gacor