काठमाडौँ । केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
दाँत तथा कानमा अचानक समस्या देखिएपछि उनी बिहीबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ। हाल अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था निगरानीमा राखेर आवश्यक परीक्षण गरिरहेको बताइएको छ।
एमाले अध्यक्ष ओलीकी सचिवालय प्रमुख निरुदेवी पाल का अनुसार स्वास्थ्यमा देखिएको समस्याबारे चिकित्सकीय परीक्षण जारी रहेकाले थप विवरण आउन बाँकी छ।
ओली यसअघि पनि विभिन्न स्वास्थ्य उपचारका लागि सोही अस्पतालमा नियमित रूपमा जाँच गराउँदै आएका छन्। मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीको केही वर्षअघि पित्तथैलीमा पत्थरी देखिएपछि त्रिवि शिक्षण अस्पतालमै शल्यक्रिया गरिएको थियो।
चिकित्सकहरूको निगरानीमा रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र परीक्षणको प्रतिवेदन आएपछि थप जानकारी सार्वजनिक गरिने सचिवालयले जनाएको छ।
नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् भने उनको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरिरहेका छन्।
प्रतिक्रिया