आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री स्वर्णिम वाग्ले
rastriyakhabar
२९ जेष्ठ २०८३, शुक्रबार ०५:२०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आफूमाथि लगाइएका आरोपको कडा प्रतिवाद गर्दै आरोप प्रमाणित भए मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो नाम जोडेर विभिन्न आशंका र आरोप लगाउनेहरूलाई लक्षित गर्दै आफूविरुद्ध कुनै पनि प्रकारको बेइमानी वा अनियमितता प्रमाणित भए पद छाड्न तयार रहेको बताए।
“मबाट २ अर्ब होइन, २ रुपैयाँको पनि बदमासी वा बेइमानी भएको प्रमाणित भए म मन्त्री पद त्यागिदिन्छु, आवश्यक परे सार्वजनिक जीवनबाट समेत अलग हुन तयार छु,” उनले भने।
अर्थमन्त्री वाग्लेले आफूमाथि प्रश्न उठाउने सांसदहरूका विगतका गतिविधिबारे पनि आफू जानकार रहेको संकेत गर्दै आरोप लगाउनेहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने बताए। “मप्रति औँलो ठड्याउने माननीयज्यूहरूका विषयमा पनि हामी अनभिज्ञ छैनौँ, समय आए ती विषयहरू पनि खुल्नेछन्,” उनले चेतावनीपूर्ण शैलीमा भने।
उनले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध प्रकाशित समाचारबारे स्पष्टिकरण दिएको उल्लेख गर्दै केही सञ्चारमाध्यममा आएका सामग्रीलाई आधारहीन भएको दाबी गरे।
विद्युतीय सवारी साधनसम्बन्धी कर नीतिबारे बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले पारदर्शिता कायम गर्न र राजस्व चुहावट रोक्न मूल्यका आधारमा भन्सार दर निर्धारण गरेको बताए। उनका अनुसार किलोवाटको आधारमा वर्गीकरण गर्दा गलत विवरण प्रस्तुत गर्ने प्रवृत्ति बढेकाले नयाँ व्यवस्था लागू गरिएको हो।
“हामीले मूल्यका आधारमा प्रणाली लागू गरेका छौँ। ५० लाख रुपैयाँभन्दा माथिका सवारी साधनमा प्रगतिशील कर प्रणाली कायम गरिएको छ। विदेशी मुद्रा व्यवस्थापन र राजस्व संकलनलाई समेत ध्यानमा राखेर निर्णय गरिएको हो,” उनले बताए।
अर्थमन्त्री वाग्लेले सरकारले सामाजिक सुरक्षाको नाममा केवल नगद वितरण गरेर मात्र गरिबी अन्त्य गर्न नसकिने धारणा पनि राखे। नागरिकलाई दीर्घकालीन रूपमा आत्मनिर्भर र आयआर्जन गर्न सक्ने बनाउनु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।
“राज्यले सधैं पैसा बाँडेर मात्र समस्या समाधान हुँदैन। उत्पादन, रोजगारी र आय सिर्जनामा जोड दिनुपर्छ। अन्यथा अर्थतन्त्रमा गम्भीर दबाब पर्न सक्छ,” उनले भने।
उनले आर्थिक अनुशासन, राजस्व वृद्धि र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारमार्फत मुलुकलाई दिगो आर्थिक विकासतर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया