काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट अवैध रूपमा नगद रकम विदेश लैजान खोजेको आरोपमा दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट ३१ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
आज अपराह्न करिब १ बजे मलेसियाको क्वालालम्पुर जान लागेको विमानको यात्रु जाँचका क्रममा उनीहरूलाई अन्तर्राष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन्।
प्रहरीका अनुसार इन्ताजअली ३८ पटक र हुसैन ११ पटक नेपाल आवतजावत गरेको तथ्य खुलेको छ।
उनीहरूले प्रयोग गरेको सुटकेसभित्र नक्कली तह (गोप्य भाग) बनाएर नगद रकम लुकाई राखेको अवस्थामा सुरक्षा जाँचका क्रममा फेला परेको थियो। त्यसपछि थप जाँच गर्दा ३१ लाख ५१ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल का अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग मा पठाइएको छ।
बरामद रकमको स्रोत, नेपालमा उनीहरूको गतिविधि तथा रकम विदेश लैजान खोज्नुको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया