क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न कांग्रेस महामन्त्री प्रदीप पौडेलको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८३, बिहीबार ०५:२३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेल ले पार्टीका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न आग्रह गरेका छन्।

महामन्त्री पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ बजे समाप्त हुने जानकारी दिँदै हालसम्म प्रक्रिया पूरा नगरेका सदस्यहरूलाई निर्धारित समयभित्र सदस्यता अद्यावधिक गर्न अनुरोध गरेका हुन्।

उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता अद्यावधिक गरिसकेका छन्। त्यस्तै १ लाख २४ हजार ७४८ जना सदस्यले अद्यावधिक फारम पेस गरिसकेको र उनीहरूको विवरण प्रमाणीकरण तथा प्रक्रियामा रहेको जनाइएको छ।

महामन्त्री पौडेलले पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिएको बताए। उनले वास्तविक सदस्यहरूको तथ्याङ्क एकीकृत गरी पार्टीको अभिलेखलाई आधुनिक र विश्वसनीय बनाउने उद्देश्यले अभियानलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे।

नेपाली कांग्रेस ले पछिल्ला वर्षहरूमा सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने नीति अवलम्बन गर्दै आएको छ। यस अभियानमार्फत पार्टीभित्र सक्रिय सदस्यहरूको यकिन विवरण संकलन गर्नुका साथै आगामी संगठनात्मक गतिविधि र महाधिवेशन प्रक्रियालाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

महामन्त्री पौडेलले निर्धारित समयभित्र सदस्यता अद्यावधिक नगर्ने सदस्यहरू पार्टीको अभिलेखमा अद्यावधिक हुनबाट वञ्चित हुन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न सबैलाई आग्रह गरेका छन्। पार्टीले देशभरका वडा, पालिका, जिल्ला र प्रदेश तहका संरचनामार्फत सदस्यता अद्यावधिक कार्यलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया

slot gacor