काठमाडौं । कुलमान घिसिङ ले नेपालका विभिन्न चर्चित तथा विवादास्पद घटनामाथि निष्पक्ष र विश्वसनीय अनुसन्धान हुनुपर्ने बताएका छन्। उनले राजदरबार हत्याकाण्ड मात्र नभई मदन भण्डारी को मृत्यु, सुशील कोइराला को निधन तथा अन्य जनचासोका घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरे।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाएको स्वागतयोग्य भएको बताए। तर, अनुसन्धानको दायरा एउटा घटनामा मात्र सीमित नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा सबै चर्चित घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने उनको भनाइ थियो।
उनले मदन भण्डारीको मृत्युबारे वर्षौंदेखि विभिन्न प्रश्न र आशंका उठ्दै आएको उल्लेख गर्दै त्यसको वास्तविकता सार्वजनिक हुनुपर्ने बताए। त्यस्तै, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनबारे समय–समयमा उठ्ने शंकाको समेत स्पष्ट जवाफ दिन अनुसन्धान आवश्यक रहेको धारणा राखे।
घिसिङले निर्मला पन्त को हत्या प्रकरण अझै निष्कर्षमा पुग्न नसकेको भन्दै दोषी पत्ता लगाएर सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे। साथै, लाल आयोग को प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै तत्काल सार्वजनिक गर्नुपर्ने बताए।
सहकारी ठगी प्रकरणबारे बोल्दै उनले पीडितहरूले अझैसम्म आफ्नो बचत रकम फिर्ता नपाएको उल्लेख गरे। विभिन्न निकायबाट अनुसन्धान भए पनि पीडितलाई न्याय दिलाउने कार्य प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो।
उनले सहकारी पीडितको रकम सरकारी ढुकुटीबाट नभई अनियमिततामा संलग्न व्यक्तिहरूबाट असुल गरी फिर्ता गरिनुपर्ने बताए। साथै, सहकारी प्रकरणमा नाम जोडिएका जिबी राई लाई नेपाल ल्याएर सार्वजनिक रूपमा आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरे। त्यसबाट घटनाको वास्तविकता बाहिर आउने उनको विश्वास थियो।
प्रधानमन्त्री बालेन्द्र साह ले हालै दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि घिसिङले असन्तुष्टि व्यक्त गरे। राष्ट्रिय संवेदनशीलतासँग जोडिएका विषयमा तथ्यमा आधारित, जिम्मेवार र कूटनीतिक रूपमा सन्तुलित अभिव्यक्ति दिनुपर्ने उनको भनाइ थियो।
उनले राजनीतिक रूपमा चर्चित घटनामात्र नभई जनचासोका सबै गम्भीर विषयमा पारदर्शी, निष्पक्ष र विश्वसनीय अनुसन्धान हुनुपर्नेमा जोड दिँदै सत्यको खोजी नै लोकतन्त्रको आधार भएको बताए।
प्रतिक्रिया