महावीर पुनको घोषणा : तीन वर्षभित्र मन्त्रालयको जग बसालेर युवालाई नेतृत्व हस्तान्तरण गर्छु
rastriyakhabar
२७ जेष्ठ २०८३, बुधबार ०६:५२
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी सम्हालेका महावीर पुन ले मुलुकको विकासका लागि तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफू रात-दिन नभनी काममा खटिने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल बाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गरी परिणाममुखी काममा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।
“मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रात-दिन काम गर्छु,” पदभार ग्रहणपछि उनले भने, “तीन वर्षभित्र मन्त्रालयको बलियो जग बसाल्छु र त्यसपछि नयाँ युवा नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्छु।”
सरकारको कार्यकाल पाँच वर्षको भए पनि आफूले बढीमा तीन वर्ष मात्रै मन्त्री पदमा रहेर काम गर्ने घोषणा गर्दै उनले पदमा लामो समय टिकिरहनुभन्दा संस्थागत सुधार र दिगो आधार निर्माणलाई प्राथमिकता दिने स्पष्ट पारे। विज्ञान र प्रविधिको क्षेत्रमा आवश्यक नीतिगत सुधार, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गरी युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ।
मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई देशको आर्थिक समृद्धि र विकासको प्रमुख आधारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले अनुसन्धान, आविष्कार, डिजिटल प्रविधि तथा नवप्रवर्तनमा आधारित विकासलाई अघि बढाउन मन्त्रालयले विशेष योजना ल्याउने संकेत समेत गरेका छन्।
लामो समयदेखि सूचना प्रविधि, ग्रामीण प्रविधि र सामाजिक नवप्रवर्तनका क्षेत्रमा सक्रिय रहेका पुनले मन्त्रालयलाई परिणाममुखी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूको क्षमता, सिर्जनशीलता र नवीन सोचलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
उल्लेखनीय रूपमा, मन्त्री पुन यसअघि पनि सरकारमा रहेर शिक्षा क्षेत्रको जिम्मेवारी सम्हालिसकेका छन्। विज्ञान तथा प्रविधिको क्षेत्रमा उनको अनुभव र दृष्टिकोणले मन्त्रालयलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया