काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंह सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै मेयर सिंहसहित सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराईलाई प्रतिवादी बनाएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध पनि सोही प्रकरणमा मुद्दा चलाइएको छ।
अख्तियारले नागरिकता कीर्ते प्रकरणको छानबिनका लागि गठन गरिएको सरकारी समितिका पदाधिकारीहरूलाई समेत प्रतिवादी बनाएको छ। तत्कालीन छानबिन समितिका संयोजक तथा उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध गलत प्रतिवेदन तयार पारेको आरोपमा मुद्दा दायर गरिएको हो।
अख्तियारको अनुसन्धानअनुसार मेयर सिंहले आफ्नी छोरीको नागरिकता बनाउने क्रममा पद र पहुँचको दुरुपयोग गर्दै झुटा विवरण तथा कागजात तयार गराएको आरोप लागेको छ।
यसअघि सोही प्रकरणमा मेयर सिंह पक्राउ परेका थिए र पछि अदालतबाट धरौटीमा रिहा भएका थिए।
अख्तियारले घटनासम्बन्धी थप कानुनी प्रक्रिया विशेष अदालतमार्फत अघि बढ्ने जनाएको छ।
प्रतिक्रिया