काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आयोजनामा, ओम चाबहिल डेन्टल प्रा.लि.को सहकार्य तथा शुभम् मल्टिमिडियाको सहजीकरणमा विपन्न समुदाय लक्षित निःशुल्क डेन्टल (दाँत तथा मुख स्वास्थ्य) शिविर भव्य रूपमा सम्पन्न भएको छ।
वडा नं. ९ मा आयोजित शिविर बिहान १० बजेदेखि सुरु भई अपराह्न ३ बजेसम्म सञ्चालन भएको थियो। करिब १५० जनाको उपस्थितिमा सम्पन्न शिविरमा आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदायका नागरिकहरूले निःशुल्क दन्त स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
शिविरमा सहभागीहरूलाई निःशुल्क दन्त परीक्षण, परामर्श, दाँत निकाल्ने, दाँत सफा गर्ने तथा आवश्यक औषधि वितरणसमेत निःशुल्क रूपमा गरिएको थियो। शिविरका क्रममा ३० जनाको दाँत निकालिएको तथा ६० जनाको दाँत सफा (स्केलिङ) गरिएको आयोजकले जनाएको छ। अन्य सहभागीहरूलाई दन्त रोगको अवस्था अनुसार परामर्श तथा औषधि वितरण गरिएको थियो।
कार्यक्रममा वडा सदस्य लक्ष्मी गुरुङ र उमेश चालिसेले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै विपन्न तथा आवश्यकतामा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। उनीहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य चेतना बढाउनुका साथै रोगको प्रारम्भिक पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
शिविरमा ओम चाबहिल डेन्टल प्रा.लि.का चिकित्सकहरूले मुख तथा दन्त स्वास्थ्यको महत्व, दाँतसम्बन्धी रोगको रोकथाम, नियमित परीक्षणको आवश्यकता तथा व्यक्तिगत सरसफाइबारे जानकारीमूलक प्रस्तुति दिएका थिए। सहभागीहरूले पनि शिविरबाट प्रत्यक्ष लाभ प्राप्त गरेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
कार्यक्रमका विशेष आकर्षणका रूपमा ओम चाबहिल डेन्टल प्रा.लि.का सञ्चालक कृष्ण घिमिरेले आर्थिक रूपमा कमजोर, असहाय तथा विपन्न नागरिकलाई आवश्यक परे अस्पतालबाट समेत निःशुल्क दन्त सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। साथै शिविरमा सहभागी भएका सबै सेवाग्राहीलाई आगामी एक वर्षसम्म ओम चाबहिल डेन्टल प्रा.लि.बाट प्रदान गरिने विभिन्न दन्त सेवामा ५० प्रतिशत छुट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
घिमिरेले स्वास्थ्य सेवा व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वको विषय भएको उल्लेख गर्दै विपन्न समुदायको स्वास्थ्य पहुँच अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइने बताए।
कार्यक्रमको सञ्चालन पत्रकार कल्पना शर्माले गरेकी थिइन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको जागरण बढाउनुका साथै विपन्न वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले शिविरलाई अत्यन्त प्रभावकारी र उपयोगी कार्यक्रमका रूपमा लिँदै गोकर्णेश्वर नगरपालिका वडा नं. ९, ओम चाबहिल डेन्टल प्रा.लि. तथा शुभम् मल्टिमिडियाप्रति आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया