काठमाडौं । डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमता र स्रोत व्यवस्थापनलाई ध्यानमा राखेर ल्याइएको बताउँदै बजेटको आकार आवश्यकताभन्दा ठूलो नभएको स्पष्ट पारेका छन्।
बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले प्रारम्भिक रूपमा बजारमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने अनुमान गरिए पनि अन्ततः करिब २१ खर्ब रुपैयाँ हाराहारीमा सीमित गरिएको जानकारी दिए।
‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ,’ उनले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने चर्चा थियो, तर अन्ततः करिब २१ खर्ब हाराहारीको यथार्थपरक बजेट ल्याइएको हो।’
उनका अनुसार प्रस्तुत बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब २८.५ प्रतिशत मात्र रहेको छ। प्रक्षेपित जिडिपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहने अनुमान गरिएको उल्लेख गर्दै उनले आर्थिक अवस्थाअनुसार उक्त तथ्यांकमा केही परिवर्तन हुन सक्ने बताए।
अर्थमन्त्री वाग्लेले विगतका वर्षहरूमा जिडिपीको ३० प्रतिशतभन्दा माथि पुग्ने बजेट आकारको प्रवृत्तिलाई तोड्दै यसपटक राज्यको वास्तविक क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरे।
सार्वजनिक ऋणबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भूकम्प र कोभिड–१९ महामारीका कारण ऋण उल्लेखनीय रूपमा बढेको स्वीकार गरे। उनका अनुसार भूकम्पअघि ऋण–जिडिपी अनुपात करिब २५–२६ प्रतिशत रहेकोमा पुनर्निर्माण र महामारीका कारण बढेर ४२–४३ प्रतिशतसम्म पुगेको थियो।
‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण निकै बढेको हो। अहिलेको अवस्था त्यसबेलाको तुलनामा नियन्त्रणमै छ,’ उनले भने।
यस आर्थिक वर्षमा सरकारले ४१० अर्ब रुपैयाँ आन्तरिक ऋण र २४७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको जानकारी दिँदै उनले लिइने ऋणको ठूलो हिस्सा सावाँ तथा ब्याज भुक्तानीमै खर्च हुने अवस्था रहेको बताए।
उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरिनेछ। कुल ६५७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखिएकोमा ३१८ अर्ब रुपैयाँ ऋण भुक्तानीका लागि विनियोजन गरिएको छ।
ऋण व्यवस्थापनलाई थप पारदर्शी र प्रभावकारी बनाउन आगामी वर्षदेखि ‘नेट डेट’ (शुद्ध ऋण) को आधारमा हिसाब गर्ने विषयमा विश्वनाथ पौडेल सहित सम्बन्धित निकायसँग छलफल भइरहेको पनि उनले जानकारी दिए।
तलब वृद्धिको विषयमा उठेका भ्रम चिर्दै अर्थमन्त्री वाग्लेले सरकारी कर्मचारीको तलब वृद्धि प्रभावकारी रूपमा २१ प्रतिशत पुगेको दाबी गरे।
‘तलब वृद्धि २१ प्रतिशत नै हो। यसबारे भ्रम फैलाइएको छ। आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ र बढेको आधारमा थप १० प्रतिशत महँगी भत्ता समायोजन हुँदा समग्र प्रभाव करिब २१ प्रतिशत पुग्छ,’ उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेका अनुसार बजेटको मुख्य उद्देश्य वित्तीय अनुशासन कायम राख्दै आर्थिक स्थायित्व, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सार्वजनिक ऋण व्यवस्थापनलाई सन्तुलित ढंगले अघि बढाउनु रहेको छ।
प्रतिक्रिया