प्रतिनिधिसभामा हंगामाबीच नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित
rastriyakhabar
१८ जेष्ठ २०८३, सोमबार ०५:४०
काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूको तीव्र विरोध, नाराबाजी तथा सांसदहरूबीच धक्कामुक्कीकै बीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ बहुमतले पारित भएको छ।
आइतबार राति अबेरसम्म चलेको तनावपूर्ण बैठकमा सभामुख डीपी अर्याल ले निरन्तर अवरोध र होहल्लाका बीच प्रतिवेदन पारित भएको घोषणा गरेका हुन्। प्रतिवेदन पारित भएसँगै उनले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
मस्यौदा समितिका संयोजक गणेश पराजुली ले प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरू रोष्ट्रमतर्फ अघि बढेका थिए। सो क्रममा ऐन महर रोष्ट्रमतर्फ जान खोज्दा मर्यादापालकहरूले रोकेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।
विपक्षी दलहरूले नियमावलीलाई संसद्को पूर्ण बैठकबाट सिधै पारित नगरी दफावार छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग गर्दै आएका थिए। उनीहरूको मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै सांसदहरूले संसदको वेल घेराउ गर्नुका साथै केही स्थानमा कुर्सी तोडफोडसमेत गरेका थिए।
बैठकका क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच चर्को विवाद, धकेलाधकेल र नाराबाजी भए पनि सभामुखले सुरक्षा घेराबीच कार्यसूचीलाई निरन्तरता दिँदै प्रतिवेदन पारित गराएका हुन्।
प्रतिवेदन पारित भएसँगै प्रतिनिधिसभाको नयाँ नियमावली कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने बाटो खुलेको छ भने संसदभित्र देखिएको असामान्य तनावले संसदीय मर्यादा र राजनीतिक सहमतिबारे नयाँ बहससमेत सिर्जना गरेको छ।
प्रतिक्रिया