काठमाडौँ । परराष्ट्र मन्त्रालय ले विभिन्न मुलुकहरूमा रिक्त रहेका नेपालको राजदूत पदका लागि खुला आवेदन तथा सिफारिस आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन र प्रवर्द्धन गर्न योग्य एवं इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त माग गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार यसपटकको नियुक्ति प्रक्रियामा इच्छुक उम्मेदवार स्वयंले आवेदन दिन सक्नेछन् भने कुनै पनि व्यक्ति वा निकायले उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था समेत गरिएको छ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अन्तर्गत तयार गरिएको कार्यशर्त (टीओआर) बमोजिम आवश्यक योग्यता पुगेका उम्मेदवारहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन वा सिफारिस गर्दा मन्त्रालयको वेबसाइटमा उपलब्ध फाराममार्फत विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) सहित आवश्यक कागजात पेश गर्नुपर्ने जनाइएको छ।
मन्त्रालयले उपलब्ध गराएको आधिकारिक इमेलमार्फत समेत आवश्यक विवरण पठाउन सकिने सूचनामा उल्लेख गरिएको छ। आवेदन तथा सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ बजेसम्म तोकिएको छ। तोकिएको समयपछि प्राप्त भएका वा रीत नपुगेका आवेदनहरू छनोट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले स्पष्ट पारेको छ।
प्राप्त आवेदन तथा सिफारिसहरूमध्येबाट योग्यता, अनुभव तथा उपयुक्तताका आधारमा प्रारम्भिक सूची (सर्टलिस्ट) तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया