काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा आकस्मिक छापा मारेपछि संस्थानभित्रको आर्थिक अनियमितता प्रकरण थप चर्चामा आएको छ।
बुधबार बिहानै सीआईबीको विशेष टोली डीडीसी कार्यालय पुगेर आर्थिक कारोबार, खरिद प्रक्रिया तथा प्रशासनिक निर्णयसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो। प्रहरी स्रोतका अनुसार संस्थानभित्र लामो समयदेखि वित्तीय अपारदर्शिता, आन्तरिक गुटबन्दी तथा आर्थिक कैफियतबारे विभिन्न उजुरीहरू परिरहेका थिए।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी ले डीडीसीसँग सम्बन्धित गम्भीर सूचना प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन्। उनले अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न भने नमिल्ने बताएका छन्।
प्रहरीले नियन्त्रणमा लिएका कागजातहरूमा ठेक्का प्रक्रिया, खरिद सम्झौता, आर्थिक भुक्तानी, प्रशासनिक निर्णय तथा विभिन्न वित्तीय कारोबारसँग सम्बन्धित फाइलहरू रहेको जनाइएको छ। ती कागजातहरूको विस्तृत अध्ययनपछि मात्रै वास्तविक अनियमितताको अवस्था र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान खुल्ने बताइएको छ।
दुग्ध विकास संस्थान राज्यको महत्वपूर्ण सार्वजनिक संस्था भएकाले यस घटनालाई अर्थतन्त्र, कृषि तथा दुग्ध व्यवसायसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयका रूपमा हेरिएको छ। अनुसन्धानबाट सार्वजनिक संस्थानहरूमा वित्तीय पारदर्शिता र सुशासन कायम गर्ने विषय पुनः केन्द्रमा आएको छ।
प्रतिक्रिया