राष्ट्रिय मानवअधिकार आयोग को सिफारिस : राष्ट्रिय स्वतन्त्र पार्टी का १७ सांसदमाथि अनुसन्धान गर्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०८३, बिहीबार ०५:२४

काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित सोही दलका १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

गत भदौ २३ र २४ गते नख्खु मा भएको प्रदर्शन तथा त्यसक्रममा भएको मानवीय र भौतिक क्षतिको घटनालाई लिएर आयोगले यस्तो सिफारिस गरेको जनाएको छ।

आयोगको प्रतिवेदनअनुसार सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किने क्रममा कैदीबन्दीलाई बाहिर निकाल्न संलग्न रहेको आशंकामा उनीमाथि थप अनुसन्धान गर्न भनिएको छ। सोही घटनामा रास्वपाका प्रवक्ता मनिष झा र नेता हरि ढकाल लाई पनि अनुसन्धानको दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ।

अनुसन्धानका लागि सिफारिस गरिएका अन्य सांसदहरूमा सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मापुरुषोत्तम यादव रहेका छन्।

त्यसैगरी रास्वपाका केन्द्रीय सदस्य खेमराज साउद तथा बाजुराबाट उम्मेदवार बनेका हेमराज थापा माथि पनि अनुसन्धान गर्न आयोगले आग्रह गरेको छ।

आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा त्यसपछि उनीहरूले दिएका सार्वजनिक अभिव्यक्तिहरूले भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको देखिएको छ। राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको सूचना, सामाजिक सञ्जाल सामग्री तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा उनीहरूको संलग्नताबारे अनुसन्धान आवश्यक देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा ती नेताहरूका अभिव्यक्तिका कारण प्रदर्शनकारी आक्रोशित भई सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगे/नपुगेको तथा दुरुत्साहन (उक्साहट) भए/नभएको विषयमा विस्तृत अनुसन्धान आवश्यक रहेको औँल्याइएको छ।

लिली थापा को संयोजकत्वमा गठित छानबिन समितिले भदौ २३ को प्रदर्शन र त्यसपछिको घटनाबारे स्थलगत अनुसन्धान गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

Leave a Reply