काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ को आयोजनामा “साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम फ्युजन एकेडेमी स्कूल मा सञ्चालन गरिएको थियो भने सहजीकरण बिश्वदर्शन मिडिया ग्रुपले गरेको थियो।
कार्यक्रममा २०५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थी, शिक्षकको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रम करिब ४ घण्टासम्म सञ्चालन भएको आयोजकले जनाएको छ।
कार्यक्रममा विशेष प्रशिक्षक प्रहरी निरीक्षक नारायणसिंह विष्ट ले साइबर अपराध, डिजिटल सुरक्षा तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी विस्तृत प्रशिक्षण दिनुभएको थियो। उहाँले पछिल्लो समय विद्यार्थी तथा किशोरकिशोरीहरू सामाजिक सञ्जाल, गेमिङ प्लेटफर्म र विभिन्न डिजिटल एपमार्फत साइबर जोखिममा पर्ने क्रम बढिरहेको उल्लेख गर्दै सचेतना नै सबैभन्दा ठूलो सुरक्षा भएको बताउनुभयो।
उहाँले विशेषगरी फेसबुक, टिकटक, इन्स्टाग्राम, म्यासेन्जर, इमेल तथा अन्य डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा व्यवहारिक जानकारी दिनुभएको थियो। साइबर अपराधीहरूले विभिन्न प्रलोभन, नक्कली लिंक, फेक आईडी, अनलाइन गेम, स्क्याम अफर तथा भावनात्मक ब्ल्याकमेलिङमार्फत ठगी गर्ने प्रवृत्ति बढेको भन्दै विद्यार्थीहरूलाई सजग रहन आग्रह गर्नुभयो।
उहाँले प्रशिक्षणका क्रममा निम्न विषयहरूमा विशेष जानकारी दिनुभयो :
उहाँले साइबर अपराधका कारण धेरै व्यक्तिहरू आर्थिक, मानसिक तथा सामाजिक समस्यामा पर्ने गरेको उल्लेख गर्दै प्रविधिको प्रयोगसँगै डिजिटल अनुशासन पनि आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र इन्टरनेट आजको आवश्यकता हो, तर यसको गलत प्रयोगले ठूलो क्षति पुर्याउन सक्छ। विद्यार्थीहरूले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा जथाभावी साझा गर्नु हुँदैन। अहिले धेरै साइबर अपराधीहरूले फेक आईडी बनाएर साथी बन्ने, लिंक पठाएर मोबाइल ह्याक गर्ने, अनलाइन गेम तथा विभिन्न अफरमार्फत ठगी गर्ने गरेका छन्। सचेत र जिम्मेवार डिजिटल प्रयोग नै साइबर अपराधबाट बच्ने मुख्य उपाय हो।”
उहाँले विद्यार्थीहरूलाई प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्न आग्रह गर्दै पढाइ, सीप विकास, अनुसन्धान र सिर्जनात्मक कार्यमा डिजिटल माध्यम उपयोग गर्न सुझाव दिनुभयो। साथै कुनै पनि साइबर अपराध वा अनलाइन दुव्र्यवहार भए लुकाएर नबस्न र तत्काल प्रहरी, अभिभावक वा विद्यालय प्रशासनलाई जानकारी दिन आग्रह गर्नुभयो।
यसैगरी प्रशिक्षक द्रोण पराजुली ले साइबर क्राइम सम्बन्धी स्लाइड प्रस्तुति मार्फत विभिन्न व्यवहारिक उदाहरणसहित विस्तृत जानकारी दिनुभएको थियो। उहाँले आधुनिक प्रविधिको विकाससँगै साइबर अपराधका स्वरूपहरू पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै विशेषगरी विद्यार्थी तथा किशोरकिशोरीहरू डिजिटल माध्यमको प्रयोगमा बढी सक्रिय भएकाले उनीहरू सबैभन्दा बढी जोखिममा पर्ने गरेको बताउनुभयो।
उहाँले प्रस्तुतीकरणमार्फत सामाजिक सञ्जालको गलत प्रयोग, फेक फेसबुक तथा इन्स्टाग्राम आईडी, अनलाइन गेमिङमार्फत हुने ठगी, मोबाइल एप्समार्फत डाटा चोरी, ह्याकिङ, साइबर बुलिङ तथा अनलाइन ब्ल्याकमेलिङ जस्ता विषयलाई उदाहरणसहित सरल र बुझ्न सजिलो शैलीमा प्रस्तुत गर्नुभएको थियो।
उहाँले भन्नुभयो, “अहिले धेरै विद्यार्थीहरू अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा साथी बन्ने, व्यक्तिगत फोटो तथा जानकारी शेयर गर्ने, अनलाइन लिंक क्लिक गर्ने जस्ता गतिविधिमा सजिलै संलग्न हुने गरेका छन्। यस्ता सामान्य देखिने कुराले भविष्यमा ठूलो साइबर जोखिम निम्त्याउन सक्छ।”
उहाँले पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने अपराधहरू तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै साइबर अपराधीहरूले मानिसहरूको भावना, विश्वास र कमजोरीलाई प्रयोग गरेर ठगी गर्ने गरेको जानकारी दिनुभयो।
“अहिले फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका माध्यम प्रयोग गरेर फेक आईडी बनाउने, साथी बनेर विश्वास जित्ने, पछि पैसा माग्ने वा व्यक्तिगत फोटो तथा भिडियो दुरुपयोग गर्ने घटना बढिरहेका छन्। विशेषगरी किशोरकिशोरीहरू यस्ता जालमा सजिलै फस्ने गरेका छन्,” उहाँले बताउनुभयो।
उहाँले साइबर बुलिङको विषयमा पनि विशेष जोड दिँदै अनलाइनमा गरिने गालीगलौज, जिस्क्याउने, धम्की दिने, फोटो एडिट गरेर भाइरल बनाउने जस्ता गतिविधिले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताउनुभयो।
“धेरै विद्यार्थी साइबर बुलिङको सिकार हुँदा पनि डर वा लाजका कारण अभिभावक र शिक्षकलाई भन्न सक्दैनन्। तर यस्तो अवस्थामा तुरुन्तै विश्वासिलो व्यक्तिलाई जानकारी दिनु अत्यन्त आवश्यक हुन्छ,” उहाँले भन्नुभयो।
उहाँले अनलाइन गेम खेल्दा वा मोबाइल एप डाउनलोड गर्दा जथाभावी अनुमति (Permission) दिन नहुने, बलियो पासवर्ड प्रयोग गर्नुपर्ने, दुई तहको सुरक्षा (Two Factor Authentication) प्रयोग गर्नुपर्ने तथा अपरिचित लिंक वा फाइल नखोल्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
प्रस्तुतीकरणका क्रममा उहाँले वास्तविक घटनाका उदाहरणहरू प्रस्तुत गर्दै सानो लापरवाहीका कारण कसरी मानिसहरू साइबर अपराधको सिकार बन्न सक्छन् भन्ने विषय स्पष्ट पार्नुभएको थियो। उहाँले डिजिटल माध्यम प्रयोग गर्दा सचेत, जिम्मेवार र सुरक्षित बन्नु नै साइबर अपराधबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो।
उहाँको व्यवहारिक, रोचक तथा उदाहरणसहितको प्रस्तुतीकरणले विद्यार्थीहरूलाई साइबर सुरक्षाबारे सहज रूपमा बुझ्न मद्दत पुगेको सहभागीहरूले बताएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य रणबहादुर तामाङ ले राख्नुभएको थियो। उहाँले वर्तमान समयमा प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेका बेला साइबर सुरक्षाबारे विद्यालयस्तरमै जनचेतना फैलाउनु अत्यन्त आवश्यक भएको बताउनुभयो।
विद्यालयका संस्थापक तथा अध्यक्ष नारायण दुलाल ले विद्यालयमा यस्ता समयसापेक्ष, व्यवहारिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएकोमा बुढानीलकण्ठ नगरपालिका वडा नं. ५, वडा अध्यक्ष, जनप्रतिनिधिहरू तथा सहजीकरण गर्ने शुभम् मल्टिमिडियाप्रति विशेष आभार व्यक्त गर्नुभयो।
उहाँले अहिलेको डिजिटल युगमा विद्यार्थीहरू प्रविधिसँग अत्यन्त नजिक रहेकाले उनीहरूलाई केवल पाठ्यपुस्तकको शिक्षा मात्र नभई डिजिटल सुरक्षा, जिम्मेवार सामाजिक सञ्जाल प्रयोग तथा साइबर अपराधबाट जोगिने ज्ञान दिनु पनि उत्तिकै आवश्यक भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “आजको पुस्ता प्रविधिसँग प्रत्यक्ष जोडिएको पुस्ता हो। विद्यार्थीहरूले मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल दैनिक रूपमा प्रयोग गरिरहेका छन्। यस्तो अवस्थामा डिजिटल शिक्षासँगै डिजिटल सुरक्षाको ज्ञान दिनु अत्यन्त आवश्यक भइसकेको छ। विद्यालयमै आएर यति महत्वपूर्ण र व्यवहारिक विषयमा विशेषज्ञमार्फत प्रशिक्षण प्रदान गरिएकोमा हामी अत्यन्त खुसी छौँ।”
उहाँले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई सचेत बनाउने विश्वास व्यक्त गर्दै विद्यालयस्तरमा साइबर सचेतना कार्यक्रमको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्नुभयो।
उहाँले थप भन्नुभयो, “साइबर अपराध आज विश्वव्यापी चुनौतीको रूपमा देखिएको छ। विशेषगरी किशोरकिशोरीहरू विभिन्न अनलाइन जोखिममा पर्न सक्ने भएकाले समयमै सचेत गराउनु आवश्यक हुन्छ। वडा कार्यालयले विद्यालयलाई छनोट गरी यस्तो प्रभावकारी कार्यक्रम आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य हो। यसले विद्यार्थीहरूलाई सुरक्षित डिजिटल संस्कार विकास गर्न ठूलो सहयोग पुग्नेछ।”
उहाँले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शुभम् मल्टिमिडियाप्रति पनि धन्यवाद व्यक्त गर्दै व्यवहारिक प्रस्तुति, सहज सहजीकरण र विद्यार्थीमैत्री शैलीले कार्यक्रम अझ प्रभावकारी बनेको बताउनुभयो।
“विद्यार्थीहरूले निकै चासोका साथ कार्यक्रम सुन्नुका साथै विभिन्न प्रश्नसमेत सोधेका थिए। यसले उनीहरूमा साइबर सुरक्षाप्रति जागरूकता बढेको स्पष्ट देखिन्छ। आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू विद्यालयमा निरन्तर सञ्चालन भइरहनुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ,” उहाँले भन्नुभयो।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले कार्यक्रम जानकारीमूलक, व्यवहारिक तथा अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए।
प्रतिक्रिया