काठमाडौं । नेपाल प्रहरी ले इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको हिरासतभित्र मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो। सो समितिले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभिन्न प्रकारका विभागीय कारबाही सिफारिस गरेको हो।
समितिको सिफारिसअनुसार १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत दिने तथा १ जनालाई ग्रेड घटुवा गर्ने प्रस्ताव गरिएको छ।
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै “हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१” को पूर्ण कार्यान्वयन गर्न सुझाव दिएको छ।
त्यस्तै, ड्युटीका समयमा अन्य काममा संलग्न नहुने, नियमित निगरानी सुनिश्चित गर्ने तथा कुनै पनि असामान्य गतिविधि तत्काल रिपोर्ट गर्ने प्रणाली अनिवार्य लागू गर्नुपर्ने समितिको सुझाव छ।
विशेषगरी अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनामा आवश्यक तथ्य संकलन, परिवारसँग समन्वय तथा अनुसन्धान प्रक्रियामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी हुनुपर्नेमा समितिले जोड दिएको छ।
यसका साथै जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापनजस्ता संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउन, आवश्यक जनशक्ति व्यवस्थापन गर्न तथा प्रत्येक प्रहरी इकाइमा हिरासत अवस्थाको नियमित मूल्याङ्कन गरी सुधारमुखी योजना लागू गर्न सुझाव दिइएको छ।
प्रतिक्रिया