वीरगञ्ज । जिल्ला अदालत पर्साले राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अर्काकी छोरीलाई आफ्नै छोरी देखाएर झूटो विवरणका आधारमा नागरिकता तथा राहदानी बनाइदिएको आरोपमा अनुसन्धानका लागि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवका अनुसार सोही मुद्दामा मेयर सिंहकी श्रीमती तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको छ। अदालतले उनीहरूलाई ७ दिनभित्र पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ।
यदि तोकिएको अवधिभित्र पक्राउ गर्न नसकिएमा ३५ दिने पक्राउ पुर्जी तामेली गर्न पनि अदालतले निर्देशन दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले अदालतको आदेश कार्यान्वयनका लागि प्रहरी परिचालन भइसकेको जानकारी दिएका छन्।
सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तान देखाएर झूटो जन्मदर्ता बनाएको तथा सोही आधारमा नेपाली नागरिकता र राहदानी तयार गरी विदेश पठाएको आरोप लागेको छ।
उक्त प्रकरणमा उनीविरुद्ध लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको आरोपमा मुद्दा दर्ता भएको छ। नाता प्रमाणित गरी नागरिकता बनाइएकी युवती भने हाल अध्ययनका लागि विदेश गएको बताइएको छ।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत कीर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा (१), (२) र (३)(ग) अनुसार सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर गर्नेलाई ७ वर्षसम्म कैद तथा ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार मेयर सिंहसहित आरोपीहरूमाथि मुद्दा अघि बढाइएको हो।
प्रतिक्रिया