काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यगढी गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशन मिति २०८३ जेठ ९ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सूर्यगढीमा आयोजित अधिवेशनमा विभिन्न तहका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा माननीय मन्त्री Dr. Bikram Timalsina सहभागी हुनुभएको थियो भने बागमती प्रदेश सभापति तथा माननीय सांसद Dr. Achutam Lamichhane को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मधुसूदन ढकाल, महामन्त्री सुरेन्द्र भट्ट, जिल्ला सभापति रामेश्वर गजुरेल लगायत केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका तहका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक उपस्थितिले अधिवेशनलाई थप भव्य बनाएको आयोजकले जनाएको छ।
अधिवेशनबाट सूर्यगढी गाउँपालिका समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। नव निर्वाचित सभापतिले सम्पूर्ण पालिका समिति, जिल्ला, प्रदेश तथा महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएको जानकारी दिँदै पार्टीप्रति देखिएको एकता र विश्वासप्रति खुशी व्यक्त गर्नुभएको थियो।
उहाँले अधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन संयोजक सुमन धिताल, राजु प्रसाद लामिछाने लगायत सम्पूर्ण सहयोगी, कार्यक्रम उद्घोषक तथा उपस्थित सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।
नवनिर्वाचित सभापतिले सूर्यगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अझ सशक्त, जनमुखी तथा सक्रिय संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको संगठन विस्तार, सुशासन, विकास र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
कार्यक्रममा सहभागी नेताहरूले रास्वपाको संगठन विस्तारसँगै नयाँ राजनीतिक संस्कार निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए। उनीहरूले जनतासँग प्रत्यक्ष जोडिने राजनीति, पारदर्शिता तथा सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।
प्रतिक्रिया