किमाथांका । संखुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टे क्षेत्रमा आज बिहान आएको भीषण पहिरोले भेडीगोठ बगाउँदा २ सयभन्दा बढी भेडा बेपत्ता भएका छन्। लगातारको वर्षापछि आएको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पुरिँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार दलबहादुर गुरुङले पालेका २५० भेडामध्ये २१८ वटा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। हालसम्म ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् भने बाँकीको खोजी कार्य जारी रहेको छ।
पहिरोमा परेर गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। प्रहरीका अनुसार उनको हात र खुट्टामा चोट लागेको छ। अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन्।
स्थानीयवासीका अनुसार बिहान एक्कासि ठूलो आवाजसहित माथिबाट पहिरो झरेपछि भेडीगोठ पुरिएको थियो। गोठाला तथा स्थानीयले तत्काल उद्धार प्रयास गरे पनि निरन्तर वर्षा र दुर्गम भूगोलका कारण उद्धारमा कठिनाइ भइरहेको छ।
घटनास्थल अत्यन्त विकट क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ। फोक्टे क्षेत्र नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा तथा झण्डै १० घण्टा पैदल दूरीमा पर्ने भएकाले प्रहरी टोलीलाई घटनास्थल पुग्नसमेत कठिनाइ भइरहेको छ।
घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ भने स्थानीयवासी पनि खोजी तथा उद्धार कार्यमा जुटिरहेका छन्। पहिरोका कारण भेडापालन व्यवसायमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।
लगातारको वर्षासँगै पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ। विशेषगरी उच्च हिमाली तथा भीरालो क्षेत्रमा बसोबास गर्ने नागरिक तथा पशुपालकलाई सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ।
प्रतिक्रिया