“म नेतृत्व छाड्दिनँ” — एमाले सचिवालय बैठकमै ओलीको कडा अडान बैठक छोट्याउन दबाब, पृथ्वीसुब्बा गुरुङको प्रतिवाद
rastriyakhabar
१० जेष्ठ २०८३, आईतवार ०५:०८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पार्टी नेतृत्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएका छन्। बालकोटमा जारी सचिवालय बैठकमा नेताहरूले नेतृत्व हस्तान्तरण र मार्गप्रशस्त गर्नुपर्ने धारणा राखिरहेका बेला अध्यक्ष ओलीले बीचमै हस्तक्षेप गर्दै कडा अडान प्रस्तुत गरेका हुन्।
बैठकमा सहभागी नेताहरूका अनुसार धारणा राख्ने क्रम चलिरहेकै बेला अध्यक्ष ओलीले नेताहरूलाई रोक्दै भने,
“किन सम्झाउँदै हुनुहुन्छ? मलाई सम्झाउनेतर्फ लाग्दै नलाग्नुहोस्, म नेतृत्व छाड्दिनँ।”
ओलीको यो अभिव्यक्तिपछि बैठकको वातावरण केही समय तनावपूर्ण बनेको बताइएको छ। पार्टीभित्र पछिल्लो समय नेतृत्व पुस्तान्तरण, जिम्मेवारी हस्तान्तरण र नयाँ नेतृत्व निर्माणको विषयमा बहस भइरहेका बेला ओलीले आफू अझै बलियो रहेको दाबी गर्दै नेतृत्व नछाड्ने संकेत दिएका हुन्।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठकका क्रममा अध्यक्ष ओलीले नेताहरूको धारणा राख्ने क्रम बीचमै रोक्दै पटक–पटक ‘दिशानिर्देश’ दिएका थिए। उनले बैठक धेरै लामो भएको भन्दै छिट्टै निष्कर्षमा पुग्न समेत दबाब दिएका थिए।
ओलीले बैठकमा भनेका थिए,
“यो बैठक धेरै लामो भइसक्यो, अब सकौँ। तपाईंहरूले धेरै जोड नगर्नुस्।”
बैठक छिट्टै सक्ने अध्यक्ष ओलीको आग्रहपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ भने आक्रोशित बनेका थिए। उनले बैठकमा सबैलाई खुला रूपमा धारणा राख्न दिनुपर्ने भन्दै प्रतिवाद गरेका थिए।
सचिवालय बैठकमा पछिल्लो समय पार्टी नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको विषयले प्राथमिकता पाइरहेको छ। केही नेताहरूले आगामी महाधिवेशनअघि नै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै आएका छन्।
तर अध्यक्ष ओलीले भने आफू अझै पार्टीभित्र बलियो अवस्थामा रहेको दाबी गर्दै नेतृत्व छाड्ने कुनै मनस्थितिमा नरहेको स्पष्ट संकेत गरेका छन्। बैठकमा उनले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको उल्लेख गर्दै आफूविरुद्ध अनावश्यक दबाब सिर्जना गर्न खोजिएको संकेत समेत गरेका थिए।
एमालेभित्र अध्यक्ष ओलीको कार्यशैली, नेतृत्व निरन्तरता र भावी उत्तराधिकारबारे बहस चुलिँदै गइरहेका बेला सचिवालय बैठकमै सार्वजनिक रूपमा देखिएको यो विवादले पार्टीभित्रको आन्तरिक तनाव थप सतहमा आएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।
प्रतिक्रिया