काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र व्यापक संगठनात्मक पुनर्संरचना र जिम्मेवारी हेरफेरको तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेको नयाँ कार्यविभाजन प्रस्तावले एमाले अब पूर्ण रूपमा ‘मिसन स्थानीय चुनाव’ मोडमा प्रवेश गरेको संकेत दिएको छ।
अध्यक्ष ओलीले गत सोमबार बसेको सचिवालय बैठकमा केही पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न जनवर्गीय संगठनका इन्चार्जहरूको नयाँ जिम्मेवारी प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावमाथि शुक्रबार बस्ने सचिवालय बैठकले छलफल गरी अन्तिम निर्णय गर्ने तयारी रहेको एमाले स्रोतले जनाएको छ।
नयाँ प्रस्तावअनुसार एमालेका प्रभावशाली विभागहरूको नेतृत्व अध्यक्ष ओली निकट मानिएका नेताहरूले पाउने भएका छन्। प्रचार तथा प्रकाशन विभाग प्रमुखमा डा. सूर्यप्रसाद पाठक, पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङ तथा सामाजिक सेवा विभाग प्रमुखमा सुशीला नेपाललाई प्रस्ताव गरिएको छ।
त्यस्तै कानुन विभागको जिम्मेवारी पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई दिने तयारी गरिएको छ भने स्थानीय विकास विभाग प्रमुखमा राजेन्द्रप्रसाद गौतमलाई अघि सारिएको छ। राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीलाई शहरी विकास विभाग प्रमुखसँगै ‘मिसन स्थानीय चुनाव गुल्मी’ को विशेष जिम्मेवारी दिइने प्रस्ताव छ।
विज्ञान तथा प्रविधि विभाग प्रमुखमा रचना खड्का तथा साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा हेमराज राईलाई जिम्मेवारी दिने तयारी गरिएको छ।
एमालेले प्रदेश तथा विभिन्न फाँटमा पनि नयाँ नेतृत्व संरचना तयार गर्न लागेको छ। मधेश प्रदेश इन्चार्जमा लीलानाथ श्रेष्ठलाई प्रस्ताव गरिएको छ भने मजदुर फाँटमा विनोद श्रेष्ठ, बुद्धिजीवी फाँटमा विष्णु रिजाल र रिटर्नी फेडरेशनमा शान्ता चौधरीलाई जिम्मेवारी दिने तयारी छ।
त्यस्तै सम्पर्क विशेष कमिटी इन्चार्जमा लालबाबु पण्डित, युवा फाँटमा क्षितिज थेवे, विद्यार्थी फाँटमा रश्मि आचार्य तथा विद्यार्थी विशेष कमिटी इन्चार्जमा समिककुमार बडाललाई अघि सारिएको छ।
मानव अधिकार एलाइन्स इन्चार्जमा मीनबहादुर शाही, बागमती सम्पर्क कमिटी इन्चार्जमा श्यामकुमार बस्नेत तथा भारत प्रवास इन्चार्जमा हरिप्रसाद घिमिरेलाई जिम्मेवारी दिने प्रस्ताव पनि ओलीले अघि सारेका छन्।
एमालेले जिल्लास्तरमा पनि संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न नेताहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ।
काठमाडौंको इन्चार्जमा रामेश्वर फुयाँल, झापामा रोमनाथ ओली, इलाममा राम राना, धनकुटामा राजेन्द्रकुमार राई, सोलुखुम्बुमा मानवीर राई, ओखलढुङ्गामा यज्ञराज सुनुवार तथा तेह्रथुममा विष्णुमाया विकलाई प्रस्ताव गरिएको छ।
त्यस्तै गोरखामा रामशरण बस्नेत, मकवानपुरमा रामेश्वर राना, भक्तपुरमा शकुन्तला श्रेष्ठ, बाँकेमा शान्तिदेवी ढकाल, महोत्तरीमा सरोजकुमार यादव, सर्लाहीमा हरिप्रसाद उप्रेती, नवलपरासीमा सरिता भुसाल खनाल, स्याङ्जामा सीमाकुमारी क्षेत्री, प्युठानमा सूर्यबहादुर थापा क्षेत्री, रुकुम पश्चिममा सुशीलकुमार थापा तथा बैतडीमा लिलाधर भट्टलाई जिम्मेवारी दिने तयारी गरिएको छ।
एमालेले आगामी स्थानीय निर्वाचनलाई निर्णायक राजनीतिक प्रतिस्पर्धाको रूपमा लिएको देखिएको छ। त्यसका लागि विभिन्न जिल्लामा विशेष चुनावी कमान्ड समेत खडा गर्न लागिएको छ।
‘मिसन स्थानीय चुनाव’ अन्तर्गत सिरहामा रामरती देवी राम, धनुषामा रामचन्द्र मण्डल, सर्लाहीमा राधिका खतिवडा, अछाममा यज्ञबहादुर बोगटी, दाङमा मनुका कुमारी पोखरेल, झापामा मीना पोखरेल उप्रेती, काठमाडौंमा सीता लामा तथा मुस्ताङमा सम्राट गौचनलाई चुनावी मोर्चाको नेतृत्व दिने तयारी गरिएको छ।
एमाले स्रोतका अनुसार स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई तल्लो तहसम्म पुनः सक्रिय बनाउने, जनवर्गीय संगठनलाई परिचालन गर्ने तथा प्रदेश र जिल्लास्तरमा चुनावी रणनीति प्रभावकारी बनाउने उद्देश्यले यो कार्यविभाजन गरिएको हो।
हालसम्म बाँकी रहेका केही विभाग तथा जिल्लाको जिम्मेवारी भने शुक्रबार बस्ने सचिवालय बैठकले टुंग्याउने तयारी गरेको छ। प्रस्तावित नामहरूमा आवश्यक परिमार्जन र सहमति जुटाएर औपचारिक निर्णय सार्वजनिक गरिने एमालेका एक पदाधिकारीले बताएका छन्।
पार्टीभित्र आगामी निर्वाचनलाई केन्द्रमा राखेर संगठनलाई चुस्त, सक्रिय र चुनावमुखी बनाउन अध्यक्ष ओलीले प्रत्यक्ष चासो दिएका छन्। एमालेले यो कार्यविभाजनलाई आगामी चुनावी रणनीतिको आधारभूत संरचनाका रूपमा लिएको नेताहरूको भनाइ छ।
प्रतिक्रिया