गण्डकी । वैशाख–जेठ मह सिकारका लागि उपयुक्त याम मानिन्छ। यतिबेला गण्डकी प्रदेशका विभिन्न पहाडी जिल्लामा परम्परागत भिरमौरीको मह सिकार सुरु भएको छ। अक्करे भीरमा ज्यानकै जोखिम मोलेर सिकारीहरू मह काढ्न व्यस्त छन् भने पुर्खादेखि चलिआएको सीप र परम्परालाई जीवन्त बनाइरहेका छन्।
पछिल्लो समय मह सिकार केवल परम्परागत पेशा मात्र नभई साहसिक पर्यटनको आकर्षणका रूपमा समेत विकास हुन थालेको छ। भिरमा डोरी र पराङको सहारामा झुन्डिएर मह काढ्ने दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू उत्साहित हुने गरेका छन्। यही आकर्षणलाई मध्यनजर गर्दै कतिपय स्थानमा मह सिकार उत्सवसमेत आयोजना हुन थालेका छन्।
बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवामा गत शनिबारदेखि मह सिकार सुरु भएको स्थानीय सरस्वती युवा क्लबले जनाएको छ। क्लबका अध्यक्ष यम बुढा का अनुसार सोमबार मह सिकार उत्सव आयोजना गरिएको थियो, जहाँ ठूलो सङ्ख्यामा दर्शक तथा पाहुनाहरू सहभागी भएका थिए।
उत्सवमा दोर्णकुमार कुँवर लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। अध्यक्ष बुढाका अनुसार यस वर्ष रमुवामा मात्रै एक हजार पाँच सयदेखि दुई हजार लिटरसम्म मह उत्पादन हुने अनुमान गरिएको छ।
उनले भने, “मह सिकार उत्सवले यसको महत्व अझ बढाएको छ। मह सिकार हेर्न र शुद्ध भिरमहको स्वाद लिन मानिसहरूको ठूलो भीड लाग्ने गरेको छ।”
क्लबले मह बिक्रीबाट प्राप्त आम्दानी सामाजिक तथा सामुदायिक काममा खर्च गर्दै आएको जनाएको छ। स्थानीयवासीले पनि महबाट प्राप्त आम्दानी बाँडफाँट गर्ने गरेका छन्। भिरमौरीको मह प्रतिकिलो करिब दुई हजार रुपैयाँसम्म बिक्री हुने गरेको बताइएको छ।
गलकोट–१० का पूर्व वडाध्यक्ष तिलक घर्ती ले रमुवाका भीरहरूमा प्रशस्त भिरमौरी पाइने बताए। उनका अनुसार स्थानीयवासीले पुस्तौँदेखि मह सिकार गर्दै आएका छन् र परम्परागत प्रविधि प्रयोग गरेर भीमकाय भीरमा गरिने मह सिकारले धेरैलाई आकर्षित गर्ने गरेको छ।
यस्तै, बागलुङकै ताराखोला गाउँपालिका–५ स्थित जुल्फे सामुदायिक वनको मारोभिरमा पनि सोमबारदेखि मह सिकार सुरु भएको छ। वन उपभोक्ता समितिका सचिव नारायण घर्ती का अनुसार पहिलो दिन झन्डै ६० लिटर मह संकलन गरिएको थियो।
उनले यस वर्ष हिउँदमा अत्यधिक वर्षा भएका कारण मह उत्पादन घटेको बताए। “वर्षा हुँदा मौरी चर्न जान पाउँदैनन्, आफैँले बनाएको मह खाएर बस्छन्,” उनले भने।
स्थानीयका अनुसार लामो खडेरी पर्दा भिरमौरीले बढी मह उत्पादन गर्ने गर्छ। मह सिकार अत्यन्त जोखिमपूर्ण कार्य भएकाले अनुभवी र दक्ष सिकारीहरू मात्र यसमा सहभागी हुन्छन्। सिकारअघि पितृ र प्रकृतिलाई पुकार्ने परम्परा अहिले पनि कायम छ।
मह सिकार टोलीमा सामान्यतया १५ देखि २० जना सहभागी हुन्छन्। टोलीको नेतृत्व ‘भिरौटे’ भनिने मुख्य सिकारीले गर्छन्। उनीहरू निगालो र चोयाँबाट बनाइएको पराङ (भर्याङ), सुथरी, डाली, साज र जाबोको प्रयोग गर्दै मौरीको घारसम्म पुग्छन्।
मह काढ्न प्रयोग गरिने अधिकांश सामग्री स्थानीय लेकाली चोयाँ र काठबाट बनाइन्छ। पराङलाई ठूलो रुख वा ढुङ्गामा बाँधेर भीरमा झारिन्छ र त्यसकै सहायताले सिकारी घारसम्म पुग्छन्। निगालोको टुप्पोमा हँसिया बाँधेर बनाइएको ‘साज’ प्रयोग गरी महको चाका काटिन्छ भने तल डालीमा थापेर संकलन गरिन्छ।
मौरीको टोकाइबाट जोगिन सिकारीहरूले जाबोले आफ्नो अनुहार छोप्ने गर्छन्। मह निकालेपछि सहभागीहरूबीच बाँड्ने परम्परा छ भने बढी उत्पादन भएमा बिक्रीसमेत गरिन्छ।
स्थानीयवासीका अनुसार मह सिकार अब केवल परम्परा मात्र नभई ग्रामीण तथा साहसिक पर्यटनसँग जोडिएको सम्भावनायुक्त क्षेत्र बन्दै गएको छ। औषधीय गुणयुक्त र स्वास्थ्यवर्द्धक मानिने भिरमहको माग बजारमा उच्च रहेकाले यसको व्यावसायिक सम्भावना पनि बढ्दो क्रममा छ।
कास्की, म्याग्दी र लमजुङ लगायतका जिल्लाका पहाडी भेगमा पनि हरेक वर्ष परम्परागत शैलीमा भिरमौरीको मह सिकार गरिँदै आएको छ।
प्रतिक्रिया