बुढानीलकण्ठ वडा–५ मा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम आयोजना हुने
rastriyakhabar
५ जेष्ठ २०८३, मंगलवार १६:२०
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ ले साइबर अपराध नियन्त्रण तथा डिजिटल सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी २०८३ साल जेठ ६ गते बुधबार फ्युजन एकेडेमी स्कूल मा सञ्चालन गरिनेछ। कार्यक्रमको आयोजना वडा कार्यालयले गरेको हो भने सहजीकरण शुभम् मल्टिमिडिया ले गर्नेछ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधबाट बच्ने उपाय, अनलाइन ठगी, ह्याकिङ, फेक आईडी, साइबर बुलिङ तथा डिजिटल सुरक्षासम्बन्धी जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
वडा अध्यक्ष कृष्ण शाह ठाकुरीले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए।
उनले भने, “आजको डिजिटल युगमा विद्यार्थी र युवापुस्ता सबैभन्दा बढी इन्टरनेट र सामाजिक सञ्जालसँग जोडिएका छन् । प्रविधिको सही प्रयोगसँगै साइबर अपराधबाट कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको हो । सुरक्षित डिजिटल समाज निर्माणका लागि जनचेतना अत्यन्त आवश्यक छ ।”
वडा सदस्य रणबहादुर तामाङ ले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उनले भने, “साइबर सुरक्षा अहिलेको आवश्यकता हो । विशेषगरी विद्यार्थी र युवाहरूलाई समयमै सचेत बनाउन सके भविष्यमा हुने धेरै प्रकारका अनलाइन अपराध न्यूनीकरण गर्न सकिन्छ । यस्ता कार्यक्रमले समाजलाई जिम्मेवार डिजिटल प्रयोगतर्फ प्रेरित गर्नेछ ।”
यस्तै वडा सदस्य श्याम तामाङ ले डिजिटल शिक्षासँगै डिजिटल सुरक्षाको ज्ञान पनि अनिवार्य भइसकेको बताए।
उनले भने, “मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल अहिले दैनिक जीवनको हिस्सा बनिसकेको छ । तर त्यसको गलत प्रयोगले धेरै समस्या निम्त्याउन सक्छ । विद्यार्थी तथा अभिभावकलाई समयमै सचेत गराउन सके साइबर अपराधबाट जोगिन सजिलो हुन्छ ।”
वडा सदस्य तारा मिजार ले समुदायस्तरमै साइबर सचेतना विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन्।
उनले भनिन्, “प्रविधिको विकाससँगै चुनौती पनि बढेका छन् । विशेषगरी किशोरकिशोरीहरू अनलाइन जोखिममा पर्न सक्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थी सबैलाई सचेत बनाउनु आवश्यक छ । यस्ता कार्यक्रमले सुरक्षित र सकारात्मक डिजिटल वातावरण निर्माणमा सहयोग पुर्याउँछ ।”
आयोजकका अनुसार कार्यक्रममा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण, अन्तरक्रिया तथा व्यवहारिक जानकारीसमेत प्रदान गरिनेछ। कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकलाई डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे सचेत बनाउँदै जिम्मेवार प्रविधि प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया