मुम्बई (एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार यश अभिनीत आगामी चलचित्र Toxic: A Fairytale for Grown-Ups लाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका नकारात्मक चर्चामाथि अभिनेत्री कियारा आडवाणी ले मुख खोलेकी छिन् ।
चलचित्रका केही अन्तरङ्ग दृश्यलाई लिएर उनले असन्तुष्टि जनाएको तथा ती दृश्य हटाउन निर्माण पक्षलाई दबाब दिएको भन्ने चर्चा सामाजिक सञ्जाल र केही भारतीय सञ्चार माध्यममा सार्वजनिक भएको थियो । तर कियाराले ती सबै दाबीलाई अस्वीकार गर्दै “पूर्ण रूपमा बकवास” भएको प्रतिक्रिया दिएकी हुन् ।
कियाराले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै ती रिपोर्टहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेकी छिन् । उनले भ्रामक अफवाहको पछि नलाग्न आफ्ना प्रशंसकहरूलाई आग्रह समेत गरेकी छन् ।
केही भारतीय अनलाइन पोर्टलहरूले कियाराले चलचित्रमा ‘नादिया’ नामक पात्रको भूमिका निर्वाह गरिरहेको र सुटिङपछि फाइनल फुटेज हेर्दा केही रोमान्टिक तथा बोल्ड दृश्यमा असहज महसुस गरेको दाबी गरेका थिए ।
रिपोर्टअनुसार सुरुमा ती दृश्यका लागि सहमति जनाए पनि पछि उनले निर्देशक गीतू मोहनदास र अभिनेता यशसँग दृश्य छोट्याउन वा हटाउन अनुरोध गरेको उल्लेख गरिएको थियो ।
तर कियाराको पछिल्लो स्पष्टिकरणपछि ती सबै चर्चा निराधार रहेको बुझिएको छ ।
Toxic: A Fairytale for Grown-Ups निर्देशक गीतू मोहनदासको निर्देशनमा निर्माण भइरहेको एक गम्भीर तथा डार्क शैलीको चलचित्र हो । फिल्मको टिजर सार्वजनिक भएयता नै दर्शकहरू यश र कियाराको नयाँ केमेस्ट्री हेर्न उत्साहित देखिएका छन् ।
चलचित्रको कथा, पात्र र प्रस्तुतीकरणलाई निर्माण टिमले निकै गोप्य राखेकाले दर्शकमाझ यसको कौतुहलता अझ बढिरहेको छ ।
कियाराको पछिल्लो प्रतिक्रियापछि चलचित्रको छायांकन तथा निर्माण कार्य सामान्य रूपमा अगाडि बढिरहेको बताइएको छ । दर्शकहरू अहिले यशको नयाँ अवतार र कियाराको अभिनय पर्दामा हेर्न प्रदर्शन मितिको प्रतीक्षामा छन् ।
प्रतिक्रिया