बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा झण्डै रु ६ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदी का अनुसार बक्यौता असुली, बजार अनुगमन तथा करदातामुखी अभियानलाई तीव्रता दिँदा गत आर्थिक वर्षको तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढी राजस्व सङ्कलन भएको हो ।
कार्यालयले वैशाख मसान्तसम्म कुल रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।
सङ्कलित राजस्वमध्ये अन्तःशुल्कतर्फ सबैभन्दा बढी रु तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार रहेको छ । यस्तै आयकरतर्फ रु एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ५१ करोड ९२ लाख ५९ हजार, ब्याज करतर्फ रु छ करोड ८३ लाख ७७ हजार तथा बहाल करतर्फ रु एक करोड ५९ लाख ८८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आर्थिक वर्षका लागि रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको छ ।
राजस्व सङ्कलन बढाउन कार्यालयले करदाताको घरमै पुगेर जानकारी दिने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधा प्रचारप्रसार गर्ने लगायतका अभियान सञ्चालन गरेको जनाएको छ ।
यी अभियानमार्फत मात्र करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली गरिएको प्रमुख सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया