काठमाडौं । परराष्ट्र मन्त्रालय ले इरानको बन्दर अब्बासमा थुनामा रहेका नेपाली नागरिक अमृत झा को निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै इरानको किश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका झासम्बन्धी मुद्दामा आवश्यक कानुनी र कूटनीतिक पहल भइरहेको स्पष्ट पारेको हो ।
मन्त्रालयका अनुसार उक्त मुद्दा इरानको कानुनअनुसार विचाराधीन रहेकाले उपलब्ध सबै माध्यम प्रयोग गरेर झाको निष्पक्ष सुनुवाइ, कानुनी सहायता तथा आवश्यक कूटनीतिक समन्वय अघि बढाइएको छ ।
इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा झा रिहा भएको भन्ने अनौपचारिक सूचना सार्वजनिक भएपछि अन्योल सिर्जना भएको भन्दै मन्त्रालयले त्यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबीच गत फेब्रुअरी २८, २०२६ मा द्वन्द्व सुरु हुनुभन्दा करिब एक महिना अघि झासहित अन्य ६ विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीहरूले किश्म टापुबाट नियन्त्रणमा लिएका थिए ।
गत अप्रिल १५ मा इरानका लागि नेपाली ‘अनररी कन्सल’ शाहराम शान्तिय ले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राई लाई झा रिहा भएको जानकारी पठाएका थिए ।
सोही सूचनाका आधारमा मन्त्रालयको सम्बन्धित महाशाखाले प्रतिवेदन तयार गरी परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राई लाई बुझाएको थियो । त्यसपछि मन्त्रालयले झा जेलमुक्त भएको जानकारी सार्वजनिक गरेको थियो ।
परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जालमार्फत सो जानकारी सार्वजनिक गरेका थिए भने नेपाली राजदूतावास, दोहालाई झाको रिहाइको लिखित प्रमाण संकलन गरी नेपाल फर्काउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ ।
तर पछि झा अझै थुनामै रहेको र मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको जानकारी प्राप्त भएपछि मन्त्रालयले वास्तविक अवस्था सार्वजनिक गरेको हो ।
मन्त्रालयले झालाई स्वदेश फर्काउन आवश्यक कानुनी प्रक्रिया जारी रहेको र उनको अवस्थाबारे परिवारसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।
प्रतिक्रिया