काठमाडौं । कामिरिता शेर्पा ले विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई पुनः तोडेका छन् । ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे सगरमाथाको शिखरमा पुगेर नयाँ इतिहास रचेका हुन् ।
सोलुखुम्बुको थामे गाउँका स्थायी बासिन्दा कामिरिता विश्वभर ‘एभरेष्ट म्यान’का रूपमा परिचित छन् । उनले यसअघि विभिन्न अन्तर्राष्ट्रिय अभियानमार्फत सगरमाथा आरोहण गर्दै आएका भए पनि यसपटक फोर्टिन पिक्स एक्सिपिडिसन द्वारा सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै सफलता हासिल गरेका हुन् ।
कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनले प्रायः हरेक वर्ष सगरमाथा चढ्दै आएका छन् । तीन दशक लामो पर्वतारोहण यात्रामा उनले केवल सगरमाथा मात्र होइन, अन्य ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमा समेत उल्लेखनीय सफलता हासिल गरेका छन् ।
टासी लाक्पा शेर्पा ले कामिरिताको उपलब्धि नेपालको गौरव र विश्व पर्वतारोहण समुदायका लागि प्रेरणाको विषय भएको बताएका छन् । उनका अनुसार यो सफलता व्यक्तिगत उपलब्धिमा सीमित नभई नेपालको हिमाल, पर्यटन र शेर्पा समुदायको योगदानलाई विश्वमाझ अझ प्रभावकारी रूपमा स्थापित गर्ने महत्वपूर्ण उपलब्धि हो ।
यसैबीच, वालेन्द्र शाह ले सामाजिक सञ्जाल एक्समार्फत कामिरिता शेर्पालाई बधाई दिएका छन् । साथै ११औँ पटक सगरमाथा आरोहण गर्न सफल लाक्पा शेर्पा लाई पनि उनले शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले नेपाली आरोहीहरूको निरन्तर सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया