काठमाडाैं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
सरकारले अघिल्लो कार्यकालमा गरिएका राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने तथा आवश्यक परे खारेज गर्ने नीति अघि बढाएसँगै भट्टमाथि पद त्याग्न दबाब बढेको थियो। स्रोतका अनुसार उद्योगमन्त्री गौरीकुमारी यादवले केही दिनअघि नै उनलाई राजीनामा दिएर सरकारको कामलाई सहज बनाउन सुझाव दिएकी थिइन्।
मन्त्री यादवले स्वेच्छिक रूपमा पद नछोडे बर्खास्ती प्रक्रिया अघि बढाउन सकिने संकेत समेत दिएको बताइएको छ। त्यसपछि भट्टले अन्ततः पदबाट अलग हुने निर्णय लिएको जनाइएको छ।
पछिल्लो समय सरकारले विभिन्न सार्वजनिक संस्थान तथा निकायमा पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिहरूलाई निरन्तरता नदिने नीति अवलम्बन गरिरहेको छ। सोही क्रममा नेपाल आयल निगमको नेतृत्व परिवर्तनको तयारी अघि बढाइएको बुझिएको छ।
डा. भट्टको राजीनामापछि अब निगमको नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा सरकारभित्र छलफल सुरु भएको स्रोतले जनाएको छ।
प्रतिक्रिया