काठमाडौं । मेटलाइफ नेपाल र खल्ती ले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन्। यो योजना अब खल्ती एपमार्फत सहज रूपमा खरिद गर्न सकिने कम्पनीहरूले बताएका छन्।
मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको उक्त योजनाले वित्तीय सुरक्षालाई अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको जनाइएको छ। कम्पनीका अनुसार अब बीमा सेवा लिन जटिल प्रक्रिया र लामो समय कुर्नुपर्ने आवश्यकता रहने छैन। केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै योजना खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
‘सुरक्षा ३६०’ योजनाले जीवन तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न सुरक्षण एउटै प्याकेजमा समेटेको छ। यसअन्तर्गत जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ।
यो योजना सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन वटा प्याकेजमा उपलब्ध रहेको जनाइएको छ। ग्राहकहरूले आफ्नो आवश्यकता र बजेटअनुसार योजना छनोट गर्न सक्नेछन्। कम्पनीका अनुसार २३ लाख रुपैयाँदेखि ४६ लाख रुपैयाँसम्मको बीमा सुरक्षण उपलब्ध हुनेछ भने वार्षिक बीमाशुल्क ३ हजार ८१० रुपैयाँबाट सुरु हुनेछ।
१८ देखि ५० वर्ष उमेर समूहका नेपालीलाई लक्षित गरी ल्याइएको यस योजनाले समग्र बीमा सुरक्षणलाई थप किफायती र सर्वसुलभ बनाउने विश्वास कम्पनीको छ।
अरुणबहादुर बस्नेत ले ‘सुरक्षा ३६०’ ले ग्राहकलाई जीवनका विभिन्न चरणमा आवश्यक वित्तीय सुरक्षा प्रदान गर्ने बताएका छन्। उनले विश्वसनीय डिजिटल प्लेटफर्ममार्फत बीमा सेवा सहज बनाउँदै अझ धेरै नेपालीलाई वित्तीय सुरक्षाप्रति सचेत र जिम्मेवार बनाउने उद्देश्य रहेको उल्लेख गरे।
प्रतिक्रिया