बजार अनियमितता नियन्त्रण गर्न सरकारद्वारा ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सुरु हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०८३, आईतवार ०६:५८

काठमाडौं ।  बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाह का प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहाल ले आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित मूल्यवृद्धिको समस्या समाधान गर्न अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएकी छन्।

उनका अनुसार सप्ताहव्यापी अभियानले बजारमा हुने अनियमितता, कृत्रिम अभाव तथा गलत व्यापारिक गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै उनले नागरिक समाज, सञ्चारकर्मी तथा सम्बन्धित सबै निकायलाई अभियान सफल बनाउन सहयोग गर्न आग्रह गरेकी छन्।

जेठ ३ गतेसम्म सञ्चालन हुने

सरकारले सोमबारदेखि सुरु हुने यो अभियान जेठ ३ गतेसम्म सञ्चालन गर्ने जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायलाई कार्यान्वयनका लागि निर्देशन दिइसकेको छ।

अभियान प्रभावकारी बनाउन गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय तथा स्थानीय तहलाई समेत आवश्यक निर्देशन दिइएको प्रेसविज्ञ दाहालले बताइन्।

स्थानीय तहदेखि केन्द्रसम्म अनुगमन

अभियानअन्तर्गत प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका पसल, व्यवसाय र सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिने तथा नियमित अनुगमन गर्नेछन्।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्ला बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै बजार निरीक्षण, प्रचारप्रसार र नियमनलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ।

केन्द्रीय तथा प्रदेश बजार अनुगमन समितिले बजारको मूल्य अवस्था मूल्याङ्कन गर्ने, अनुगमन टोली परिचालन गर्ने तथा नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनी कारबाही अघि बढाउने जनाइएको छ।

उपभोक्ता ठगी रोक्न अभियान

बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा उपभोक्ताहरू ठगिने गुनासा बढेपछि सरकारले अभियान सुरु गर्न लागेको हो।

सरकारले:

  • अनिवार्य मूल्यसूची लागू गर्ने
  • मूल्यमा पारदर्शिता ल्याउने
  • व्यापारी तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने
  • बजार अनुगमन प्रणाली चुस्त बनाउने
  • दोषीमाथि तत्काल कारबाही गर्ने

उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको जनाएको छ।

सरकारले यो अभियानलाई उपभोक्ता अधिकार संरक्षण, सुशासन प्रवर्द्धन तथा बजार व्यवस्थापन सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply