काठमाडौं, कागेश्वरी मनोहरा — कागेश्वरी मनोहरा नगरपालिकाले बजार क्षेत्रमा बढ्दै गएको सडक तथा फुटपाथ अतिक्रमण नियन्त्रण गर्न कडा अभियान सञ्चालन गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मुख्य तथा सहायक सडक, फुटपाथ र सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने गतिविधि तत्काल हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
नगरपालिकाका अनुसार पछिल्ला दिनहरूमा अनधिकृत पार्किङ, सडक किनारमा व्यापारिक सामग्री राख्ने तथा सार्वजनिक स्थान अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसका कारण पैदल यात्रु तथा सवारी आवागमनमा समस्या देखिएको छ।
यसलाई नियन्त्रण गर्न नगरपालिकाले माइकिङ, प्रचारप्रसार तथा सचेतनामूलक अभियान सञ्चालन गरिरहेको जनाएको छ। साथै नियम उल्लंघन भएमा सामग्री जफत गर्ने र आवश्यक परे दण्ड–जरिवाना समेत लगाइने चेतावनी दिएको छ।
नगरपालिकाले सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा राखिएका सबै व्यक्तिगत तथा व्यावसायिक सामग्री तुरुन्त हटाउन निर्देशन दिएको छ।
नगरपालिकाले सर्वसाधारणलाई नियम पालना गर्दै व्यवस्थित, सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सहयोग गर्न समेत अनुरोध गरेको छ।
प्रतिक्रिया