‘लालीबजार’ फिल्म विवाद : उच्च अदालतले फाइल मगायो, अन्तरिम आदेश यथावत्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०८३, बुधबार ०६:२०

काठमाडौं। उच्च अदालत पाटनले चलचित्र लालीबजार प्रदर्शन सम्बन्धी विवादमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र जाँच समितिले गरेको निर्णयको सक्कल फाइल मगाउने आदेश दिएको छ।

अदालतले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई पनि निरन्तरता दिएको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेशसहित उक्त अन्तरिम आदेश जारी गरेको थियो।

यसअघि १५ वैशाखमा अदालतले तत्कालका लागि फिल्म प्रदर्शन नगर्न आदेश दिएको थियो। अब अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

फिल्म प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले रिट दायर गरेकी थिइन्। यम थापाद्वारा निर्देशित उक्त फिल्म १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा थियो।

षट्कोण आर्टस्द्वारा निर्माण गरिएको फिल्म वादी समुदायका महिलाको संघर्षको कथामा आधारित रहेको बताइएको छ।

अल्पकालीन अन्तरिम आदेशपछि फिल्मको ‘प्रिमियर शो’ समेत रोकिएको छ भने अब अदालतको अन्तिम निर्णयपछि मात्र प्रदर्शनबारे टुंगो लाग्नेछ।

प्रतिक्रिया

Leave a Reply