काठमाडौं । दशरथ रंगशाला मा सुकुमवासीहरूको विवरण संकलन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। सहरी व्यवस्थापनअन्तर्गत विभिन्न स्थानबाट हटाइएका परिवारलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया सुरु गरिएको हो।
बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई पाँच फरक स्थानमा राख्ने योजना बनाइएको छ। तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय, खरिपाटीको विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र बनेपास्थित रेडक्रस भवनमा अस्थायी व्यवस्थापन गरिने जनाइएको छ।
हालसम्म ७२ जना सुकुमवासीले स्वेच्छिक रूपमा रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराइसकेका छन्। विवरण संकलन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली खटिएको छ।
सरकारको यो पहललाई व्यवस्थापनमुखी कदमका रूपमा हेरिएको भए पनि सुकुमवासीहरूको दीर्घकालीन पुनर्वास सम्बन्धी स्पष्ट खाका अझै सार्वजनिक नभएको अवस्थामा उनीहरूको भविष्यबारे थप चासो र बहस बढेको छ।
प्रतिक्रिया